सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा नाम मुछिएका चार भीआइपीलाई उन्मुक्ति दिने प्रयास

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुविरुद्ध पनि अभियोग दर्ता नहुने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका चार भीआइपीविरुद्ध अभियोग दर्ता नहुने भएको छ । पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, नेपाली कांग्रेसका नेता तथा सांसद आरजु राणा, कांग्रेसकै केन्द्रीय सदस्य मञ्जु खाँण र अख्तियार अनुसन्धान अयोगका प्रमुख प्रेम राईविरुद्ध अभियोग दर्ता नहुने भएको हो ।

यस प्रकरणमा नाम मुछिए उनीहरूलाई प्रहरीले प्रतिवादी नबनाउने भएको हो । उनीहरूविरुद्ध मुद्दा चलाउनेसम्मको प्रमाण नजुटिसकेकाले तत्काल मुद्दा नचलाउने प्रहरी स्रोत बताउँछ । तर, उनीहरूमाथि निगरानी भने हुने प्रहरीको भनाइ छ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियाले भने पूर्वगृहमन्त्री बादललाई रकम नै दिएको बयान दिएका छन् ।

उनकै सुरक्षा सल्लाहकार इन्द्रजित राईको मोबाइलबाट समेत उनी संलग्न रहेको प्रमाण फेला परेको छ । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै २०७४ सालदेखि नै ठगी सुरु भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन भएको थियो ।

कार्यदलले केही शरणार्थीको प्रमाणिकरण छुटेको प्रतिवेदन बुझाएपछि ठगी गिरोहले ठाउँ बनाएको थियो । कार्यदल बनाउँदा नै गिरोहले चलखेल सुरु गरिसकेका थिए । यो सबै भइरहँदा गृह मन्त्रालयको बागडोर बादलले नै सम्हालिरहेका थिए । तर, अहिले नक्कली शरणार्थी प्रकरण बाहिरिँदा उनी भने अनुसन्धानको दायराभन्दा बाहिर नै रहेका छन् । उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई भने हिरासतमा छन् ।

बादलका छोरा प्रतिकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर, जुन समयमा गिरोहले ठगीको कारोबार चलाएको थियो त्यतिखेरका गृहमन्त्री बादल भने अप्रत्याशित ‘चोखा’ देखिएका छन् । प्रतीकलाई भने प्रहरीले फरारको सूचीमा राखेर मुद्दा चलाउने भएको छ । कार्यदलले प्रतिवेदन गृहमन्त्रालय बुझाउँदा गृहसचिवमा प्रेम राई (हाल अख्तियार प्रमुख) थिए । राई २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवमा थिए ।

इन्द्रजित राईबाटै प्रेम राईको पनि यस प्रकरणमा संलग्न रहेको खुलेको छ । तर प्रहरीले प्रमाण नजुटेको भन्दै प्रेम राईविरुद्ध पनि अभियोग दर्ता नगर्ने भएको हो । बदलका सल्लाहकार इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अहिले उनी फरार छन् । उनीले पनि रकम असुलेको खुलेको छ । तत्कालीन गृहमन्त्री र सुरक्षा सल्लाहकारका छोराविरुद्ध मुद्दा चले पनि गृहसचिव र गृहमन्त्रीलाई भने जोगाउने तयारी भएको हो ।

बादल गृहमन्त्री र प्रेम राई गृहसचिव हुँदा नै ठगीको शृंखला सुरु भएको थियो । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुविरुद्ध पनि अभियोग दर्ता नहुने भएको छ । उनीहरूले पनि रकम बुझेको बिचौलियाले दाबी गरेका थिए । आरजु र मञ्जुले ६ करोड र साढे दुई करोड रकम लिएको दाबी गरिएको अडियो नै सार्वजनिक भएको छ ।

सार्वजनिक अडियोमा उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबी गरिएको छ । बालकृष्णको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा परीक्षणको रिपोर्टबाट पनि आरजु र मञ्जु यस प्रकरणमा संलग्न भएको खुलेको छ । अडियो सार्वजनिक भएपछि आरजुले भने उक्त अडियो ‘फेक’ भएको दाबी गर्दै आएका छन् । अन्यले भने यस विषयमा बोलेका छैनन् । मञ्जु भने फरार रहेका छन् ।

उनी अष्ट्रेलिया पुगेको भन्ने चर्चा समेत हुने गरेको छ । यस प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परेका छन् । उनीहरूलाई ६ वटा हिरासतमा छुट्टाछुट्टै राखिएको छ । यीमध्ये १३ जनाको बयान सकिएको छ । तर सोमबार पक्राउ परेका पूर्वसांसद आङटावा शेर्पाको भने बयान बाँकी छ । उनको बयानसँगै प्रहरीले अनुसन्धान प्रतिवेदन अदालतमा पेस गर्नेछ । त्यसको केही दिनमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गर्ने छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०८:४५