सिन्धुपाल्चोकको जुरेमा १४२ जनाको ज्यान जाने गरी २०७१ साउनमा गएको पहिरो पीडितले स्थानीयस्तरबाट सङ्कलित भएको रकम आठ वर्षपछि पाएका छन् । साविकको माखा गाउँ विकास समितिको जुरेमा पहिरो जाँदा १३५ जनाको मृत्यु भएको थियो भने करोडौँको भौतिक सम्पत्ति क्षति भएको थियो ।
पहिरोपछि जुरे पहिरो पीडितहरूका लागि जनस्तरबाट रु दुई करोड २४ लाख ६६ हजार ६५७ सङ्कलन भएको थियो । तत्कालीन सर्वदलीय संयन्त्रले सङ्कलित रकम पीडितलाई वितरण गर्न नसकेपछि तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा रकम जम्मा भएर बसेको थियो ।
विभिन्न सामाजिक सङ्घ संस्थाले पीडितको नाममा जम्मा भएको रकम तत्काल वितरण गर्न माग गरे पनि राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा वितरण हुन सकेको थिएन । तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले सङ्कलन भएको रकम वितरणका लागि जुरे पहिरो प्रभावित राहत वितरण मापदण्ड समिति बनाएर पीडितको वर्गीकरण गरेको थियो ।
अहिले रकम वितरण गर्दा त्यही मापदण्डको आधारमै रकम वितरण गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन श्रेष्ठले जानकारी दिए । घर परिवारको मृत्यु भएकाको लागि ‘क’, घर जग्गा सम्पत्ति क्षति भएकालाई ‘ख’ र जग्गा मात्रै पहिरोमा परेकाको लागि ‘ग’ वर्गमा विभाजित गरेर त्यही आधारमा रकम वितरण गर्ने मापदण्ड तयार पारिएको तत्कालीन मापदण्ड समितिका सदस्यसमेत रहेका पत्रकार युवराज पुरीले जानकारी दिए ।
अहिले रकम पाउँदा पीडितले रु चार हजारदेखि एक लाख ५४ हजारसम्म रकम पाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुखलाई पीडितले पाउने चेक प्रदान गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तीन स्थानीय सरकारका प्रमुखलाई रकमबापतको चेक हस्तान्तरण गरेका थिए ।
अब सम्बन्धित स्थानीय तहको खातामा रकम जम्मा हुने र स्थानीय तहले आफ्नो पालिकाभित्रका पीडितलाई तोकिएको मापदण्डअनुसार रकम वितरण गर्ने छन् । पीडितले रकम पाउँदा मापदण्ड निर्धारण समितिले तोकेको मापदण्डअनुसार नम्बर प्रदान गरेर रकम हस्तान्तरण गरिएको छ । बलेफी गाउँपालिकाको ११६ परिवार पीडित भएका थिए भने ११३ को मृत्यु भएको थियो ।
बलेफीले जम्मा दुई हजार ४२७ अङ्क प्राप्त गरेर सबैभन्दा बढी रु एक करोड २८ लाख तीन हजार ६६२ रकम पाएको छ । लामो समयपछि स्थानीयस्तरबाट सङ्कलन भएको रकम पीडितले पाउनु सुखद् भएको बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले बताए । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुबोध’ ले आफूहरूको निरन्तरको पहल र प्रयत्नपछि पीडितको नाममा सङ्कलन भएको रकम प्रदान गर्न सफल भएको बताए ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको प्रयास कार्यक्रममा पीडितहरूका लागि रकमबापतको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गङ्गानारयण श्रेष्ठ, प्रदेशसभा सदस्य सरल सहयात्री, मसिना भण्डारी, अमृता नेपाल, माइली तामाङ लगायत स्थानीय सरकारका प्रमुखको सहभागिता रहेको थियो ।
सत्यपाटी संवाददाता । सिन्धुपाल्चोक