सामाजिक सञ्जालमा आफ्नो सुन्दरताको कारण चर्चामा रहेकी दिव्या रायमाझीले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । नायक दिलिप रायमाझीकी छोरी दिव्या केही बर्षदेखि अमेरिकामा छिन् ।
अमेरिकामा रहेर जागिर गरिरहेकी दिव्या मे महिनाको अन्तिममा सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने फिल्म ‘बरिष्ठ बलराम’को टिमसँग कागजी संझौता गर्न नेपाल आउँदैछिन् । यो फिल्मलाई रोहित अधिकारीले निर्माण गर्न लागेका हुन् ।
फिल्ममा खगेन्द्र लामिछाने मुख्य भूमिकामा रहनेछन् । फिल्मको कथा मन पराएपछि दिव्या काम गर्न तयार भएकी हुन् । यो फिल्ममा काम गरेवापत निर्माण टिमले दिव्यालाई १० लाख रुपैयाँ पारिश्रमिक दिएको छ ।
यो कुरा निर्माता रोहित अधिकारीले पनि स्विकार गरेका छन् । दिव्या अमेरिकामा रहेर राम्रो आम्दानी गर्छिन् । यसैले, नेपाल आउँदा उनको केही समय समेत खर्च हुनेछ । यी सबै कुरालाई हेरेर दिव्यालाई १० लाख पारिश्रमिक दिनु ठूलो नभएको रोहितको तर्क छ ।
दिव्याले नेपालमा आएर अभिनय, डान्स लगायतको कोर्स समेत गर्नेछिन् । यो फिल्मको छायांकन भदौमा गर्ने तयारी रोहितको छ । फिल्मको कथा स्वयंम नायक लामिछानेले नै लेखिरहेका छन् ।
नेपालमा डेब्यू फिल्ममै १० लाख पारिश्रमिक कमै मात्र कलाकारले पाउने गरेका छन् । तर, दिव्यालाई भने रोहितले राम्रो पारिश्रमिक दिएर फिल्ममा अनुवन्धित गराउँदैछन् । फिल्मको कथावस्तुमा दिव्या फिट हुने भएकाले पनि रोहित र सुरेन्द्र उनलाई फिल्ममा काम गराउन उत्साहित भएका हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं