नेपालमा वायु प्रदुषणको कारण मानव स्वास्थ्यमा जोखिम बढ्दै गइरहेको छ । धुलो धुँवाका कण हावामा मिसिन गई वातावरणीय प्रणालीलाई नै नकारात्मक असर पर्दछ । वायुमण्डलमा रसायनहरूको मात्रा, धुलोको कणहरु, जुन ठोस, तरल या ग्याँसको रूपमा सामान्यस्तरभन्दा बढी मात्रामा भयो भने वायु प्रदुषित हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्युको कारण वायु प्रदुषणले भएको दावी छ ।
वायु प्रदुषणले मानिसलाइ क्रमिक रूपमा रोगी बनाएर मृत्यु गराउने हुनाले ‘साइलेन्ट किलर’ पनि भनिन्छ । नेपालमा दुई तरिकाले वायु प्रदुषण भइरहेको छ । घरभित्रै उत्सर्जन हुने प्रदुषण (Indoor Air Pollution) र बाहिरी वातावरणमा उत्सर्जन हुने प्रदुषण (Outdoor Air Pollution) हुन् । ग्रामीण भेगमा घरको भान्छामा खाना पकाउँदा दाउरा, गुइँठा बाल्दा निस्कने धुवाँका कारणले स्वास्थ्यमा नकारात्मक असर पार्दछ ।
नेपालमा वर्षेनी सुख्खा खडेरीका कारण वनमा लाग्ने डढेलोको घटनाले वायु प्रदुषण हुन ठूलो असर पार्छ । जंगलमा लागेको डढेलोका कारणले गर्दा मौसम फेरबदल पार्नुका साथै वायुमण्डल नै प्रदूषित भइरहेको छ । प्रदुषणका अन्य स्रोतहरू यातायात क्षेत्र, फोहोर जलाउने, पशुपालन मिथेन उत्सर्जन, इँटा भट्टा, सिमेन्ट कारखानाबाट निस्कने फोहोर पनि मुख्य हुन् । यी कारणले नै अहिले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।
वायु प्रदुषणको कारक तत्व जस्तै पार्टिकुलेट म्याटर कार्वनमोनोअक्साईड, ओजन, नाइट्रोजन डाइअक्साइड आदि हुन् । मसिना धुलोको कणहरु पार्टिकुलेट म्याटरहरु साइज दायराका विषेशगरी २.५ र १० स्वास्थ्यका लागि हानिकारक प्रदुषकहरू मानिन्छ । त्यस्ता सूक्ष्म कणहरुको एक्सपोजरले श्वासप्रश्वास नलीमा पुगेर फोक्सोमा प्रतिकूल असर गर्छ । वायु प्रदूषणको उच्चस्तरको एक्सपोजरले विभिन्न प्रकारका प्रतिकूल स्वास्थ्य परिणामहरू निम्त्याउन सक्छ ।
यसले श्वासप्रश्वासको संक्रमण, दम, मुटु रोग र फोक्सोको क्यान्सरको जोखिम बढाउँछ । वायु प्रदूषकहरूसँग छोटो र दीर्घकालीन दुवै जोखिम स्वास्थ्य प्रभावहरूसँग सम्बन्धित छ । बालबालिकामा तीव्र श्वासप्रश्वासको संक्रमण र वयस्कहरूमा क्रोनिक ब्रोन्काइटिस, र थप गम्भीर प्रभावहरूले पहिले नै बिरामी भएका मानिसहरू बढी प्रभावित हुने गरेका छन् । यसले स्वास्थ्यका विभिन्न प्रणाली र शरीरका अंगहरूको संख्यालाई असर गर्छ र छोटो र दीर्घकालीन जोखिमहरूले अकाल मृत्युदर हुने गर्दछ ।
नेपालमा २०.५ प्रतिशत मानिसहरु वायु प्रदुषणसंग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । काठमाडौंमा अहिले वायु गुणास्तरको मापन AQI २०० भन्दा बढी छ । काठमाडौंमा मात्र प्रदुषणको मापदण्ड विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा करिब पाँच गुणाले बढी रहेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका प्रोफेसर रेजिना मास्केअनुसार अहिले देशको अधिकांश भाग अस्वस्थ्यकर अवस्था (AQI १०० भन्दा माथि) रहेको छ । काठमाडौं उपत्यकाको सबै भाग अस्वस्थ अवस्थामा छ। नेपालको वायु प्रदुषणमा मुख्य स्रोतको रूपमा रहेके डढेलोले लगभग ६० प्रतिशत योगदान गरेको छ ।
काठमाडौं उपत्यकामा दैनिक २० टन फोहोर जलाएर ५५ टन पार्टिक्युलेट म्याटर (पीएम) निस्कन्छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ८ गुणा बढी रहेको छ । यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा.मेघनाथ धिमालका अनुसार वायु प्रदुषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । स्वास्थ्य प्रभावहरूमा कार्डियोभास्कुलर प्रभावहरू, श्वासप्रश्वास दमको आक्रमण र ब्रोन्काइटिस र गर्भवती महिलाहरु वायु प्रदुषणमा बढी संवेदनशील हुन्छन् जस्तैः समयपूर्व जन्म, कम तौलको बच्चा जन्मिने जोखिम बढ्छ । नेपाल ग्लोवल बर्डेन अफ रोग २०१९ का अनुसार वायु प्रदुषणसंग सम्बन्धीत रोगका कारण वार्षिकरुपमा ४० प्रतिशतभन्दा मानिसहरुको मुत्यु भएको तथ्यांकले बताएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले नेपालमा वायु प्रदुषणले गर्दा विभिन्न श्वास प्रश्वास रोगमध्ये (३९.४ प्रतिशत) सीओपीडी रहेको देखाएको छ, (२९.१ प्रतिशत) निमोनिया र (२५.३ प्रतिशत) तीव्र श्वसन रोग प्रमुख थिए । काठमाडौं उपत्यकाका अस्पतालमा श्वासप्रश्वास सम्बन्धी रोगको बिरामीहरुमध्ये (४.८ प्रतिशत) दम, (४.८ प्रतिशत) ब्रोन्काइटिसका रोगका बिरामीहरु छन् । तसर्थ, वायु प्रदूषणको बारेमा चेतना जगाउन, जन–सचेतनाका अभियान संचालन गर्न निकै आवश्यक छ । साथै, विभिन्न सरकारी, गैरसरकारी, शैक्षिक क्षेत्रसँग समन्वय गरी उचित नीति, निर्देशिका कार्यक्रमहरु कार्यन्वयन गर्नुपर्दछ ।
लुना थापा । सुजाता कार्की । काठमाडौं