स्वस्थ रहन पर्याप्त सुत्नु अति आवश्यक छ । शारिरीक व्यायाम र सन्तुलित भोजनले स्वस्थ रहनमा सहयोग गरेझैँ पर्याप्त सुताईले पनि मुटुरोग तथा मानसिक रोगजस्ता रोगको जोखिम कम गराउँछ ।
पछिल्लो समय भइरहेको तीव्र विकाससँगै मानिसमा निद्राको कमी हुँदै गइरहेको तथ्यहरू बाहिर आएका छन् । त्यसले मानसिक तथा शारिरीक स्वास्थ्यमा नकारात्मक असर परेको विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले पर्याप्त सुत्न अति जरुरी छ । यहाँ सुत्नुका विभिन्न फाइदा तल दिइएका छन्,
स्मरण क्षमतामा थप मजबुती
सन् २०१७ मा गरिएको एक अध्ययनले सुताई दिमागको विभिन्न कार्यसँग जोडिएको छ । अध्ययनअनुसार सुताईमा गडबडी हुँदा स्मरण क्षमतामा ह्रास आउँछ । त्यस्तै सुताई कम हुँदा काम गर्ने क्षमता र ऊर्जामा पनि ह्रास आउँछ । पर्याप्त ननिनाउँदा काममा एकाग्रता हुन नसक्ने, निर्णय क्षमता नहुने, जिम्मेवारी लिन नसक्ने लगायतका समस्या हुन्छन् ।
मोटोपनको जोखिम न्यून
कम सुताई र मोटोपनबारे थुप्रै अध्ययनहरू भएका छन् । यद्यपि अझै पूर्ण अध्ययन चासिँ भइसकेको छैन । हालसम्म प्राप्त नतिजाअनुसार नियमित रूपमा सात घण्टाभन्दा कम सुत्ने व्यक्तिमा मोटोपन हुने जोखिम बढी हुन्छ । अनुसन्धानकर्ताहरूले सुताई र भोक लगाउने हर्मोनबीच सम्बन्ध रहेको बताएका छन् ।
राम्रोसँग सुत्दा क्यालोरी व्यवस्थापन पनि शरीरले राम्रोसँग गर्छ । २०२२ मा गरिएको एक परीक्षणअनुसार मोटोपन भएका व्यक्तिले सुताई अवधि बढाउँदा कम क्यालोरी खर्च भएको थियो । त्यसैले अनुसन्धानकर्ताहरूले वजन घटाउन वा मोटापन हुनबाट जोगिन उमेर समूहअनुसार पर्याप्त सुत्न सुझाएका छन् ।
खेलाडीको खेल प्रदर्शनमा थप सुधार
पछिल्लो एक अध्ययनले खेलाडीहरू सामान्य मानिसभन्दा बढी सुत्नुपर्ने देखाएको छ । सुताईले खेलाडीको खेल प्रदर्शनमा थप निखारता ल्याउने देखिएको हो । पर्याप्त सुताईले थप ऊर्जा दिने, सहनशीलता, एकाग्रता बढाउने, सही समयमा सही निर्णय लिन सक्ने, दिमागले थप राम्रो र तीक्ष्ण कार्य गर्ने जस्ता फाइदा गराउँछन् । यी कुरा खेलाडीका लागि आवश्यक हुन्छन् ।
मुटुरोगको जोखिम कम
राम्रो र पर्याप्त सुताईले मुटुरोगको जोखिम कम गराउँछ । उच्च रक्तचाप मुटुरोग एक कारक हो । पर्याप्त सुताईले उच्च रक्तचाप हुने जोखिम कम गराउने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले जनाएको छ ।
थप संवेदनशील र भद्र बनाउँछ
सुताईले मानिसलाई थप संवेदनशील र भद्र व्यक्ति बनाउने अध्ययनले देखाएको छ । कम सुत्ने व्यक्तिमा अरूको भावना बुझ्ने क्षमता कम हुन्छ । सन् २०२२ मा ४७७ जनामा गरिएको एक अध्ययनअनुसार बढी सुत्ने व्यक्तिमा अरूको भावना बुझ्ने क्षमता बढी भएको देखिएको थियो । साथै उनीहरू सामाजिक कार्यमा पनि पर्याप्त संलग्न भएको देखिएको थियो । उनीहरूले आफ्ना सम्बन्धहरू पनि राम्रोसँग कायम गरेको, आफ्नो भावना तथा आवेगमा नियन्त्रण कायम गरेको देखिएको थियो ।
डिप्रेसनको रोकथाम
पर्याप्त ननिदाउँदा मन स्थिर हुँदैन । मन यताउता भइरहने, यो वा त्यो काम गरौँ हुने, लघुताभाष हुने जस्ता समस्या पर्याप्त सुताई नहुँदा हुन्छन् । त्यसरी मनलाई स्थिर गर्न नसक्नु डिप्रेसनको लक्षण हो ।
प्रतिरोधात्मक क्षमता बलियो
सुताईले शरीरलाई ‘मर्मत’, ‘पुनः उत्पन्न’ तथा ‘पुनः प्राप्त’ गराउँछ । प्रतिरोधात्मक क्षमतामा पनि यो लागू हुन्छ । अध्ययनअनुसार गहिरो निद्राको निदाइले शरीरलाई थप मजबुत बनाउँछ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यद्यपि यस विषयमा थप अध्ययन भने गर्न जरुरी रहेको छ ।
कुन उमेर समूहका कति सत्नुपर्छ ?
हरेक व्यक्तिको सुताई फरक हुनसक्छ । नेपालमा कतिपय वयस्क र वृद्धवृद्धाले आफू ४–५ घण्टा मात्र सुत्ने गरेको बताइरहेका हुन्छन् । वास्तवमा कुन उमेर समूहका व्यक्ति कति घण्टा सुत्दा राम्रो हुन्छ त ?, सीडीसीले यसबारे बताएको छ,
०–३ महिना – १४–१७ घण्टा
४–१२ महिना – १२–१६ घण्टा
१–२ वर्ष – ११ देखि १४ घण्टा
३–५ वर्ष – १० देखि १३ घण्टा
६–१२ वर्ष – ९ देखि १२ घण्टा
१३–१८ वर्ष – ८ देखि १० घण्टा
१८–६० वर्ष – ७ घण्टा
६१–६४ वर्ष – ७ देखि ९ घण्टा
६५ वर्षभन्दा माथि – ७ देखि ८ घण्टा
सत्यपाटी संवाददाता । काठमाडौं