सूचनाको शक्ति - The Power Of Information

        

बेहुली नाचेपछि बेहुलाले तत्कालै दिए डिभोर्स

इराकको बगदादमा एक जोडीको निकै कम समयमा डिभोर्स भएको छ । गल्फ न्युजले उल्लेख गरेअनुसार विवाहमा बेहुली ‘उत्तेजक’ सिरियाली गीतमा नाचेको भन्दै बेहुलाले तत्कालै डिभोर्स दिएका हुन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बेहुली ‘मेसायतारा’ गीतमा नाचेकी थिइन् । यसको अर्थ ‘म तिमीलाई नियन्त्रणमा राख्छु’ भन्ने हुन्छ । गीतको यो बोलले बेहुलालाई यति चित्त दुख्यो कि उनले तत्कालै डिभोर्सको निर्णय गरे ।

समाचारमा उल्लेख गरिएअनुसार बेहुलीले मेसायतारा गीतमा नाच्नु बेहुला र उसको परिवारलाई भड्किलो लागेको थियो । यसबाट उनीहरू खुसी थिएनन् । यस विषयमा बेहुला र बेहुलीबीच बहस पनि भएको थियो ।

त्यसपछि बेहुलाले तत्कालै बेहुलीलाई डिभोर्स दिए । यो गीत लामिस कानले गाएका थिए । गीतकै कारण नवविवाहित जोडीको डिभोर्स भएको यो पहिलो घटना भने होइन । गत वर्ष जोर्डका एक व्यक्तिले गीतकै कारण आफ्नी बेहुलीसँगको नाता तोडेका थिए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १५:०२