सूचनाको शक्ति - The Power Of Information

        

कफीले कम गर्छ गम्भीर रोगहरूको जोखिम

कफी स्फूर्तिदायी र ऊर्जा बढाउने पेय पदार्थ हो । कफी बिना धेरै मानिसहरू दिनको सुरुवात गर्दैनन् । तर, धेरै रिपोर्टमा कफीको अत्यधिक सेवनलाई हानिकारक मानिएको छ । कफीमा क्याफिन नामको मुख्य तत्त्व पाइन्छ, जसको अत्यधिक सेवनले गम्भीर समस्या निम्त्याउन सक्छ । यदि सही मात्रामा कफी पिउने हो भने शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार कफीले विभिन्न रोगको जोखिम कम गर्न मद्दत गर्छ । कफीमा गरिएको केही अध्ययनका अनुसार कफीलाई सही मात्रामा पिउने हो भने यसले गम्भीर रोगहरूमा फाइदा पुर्याउँछ । कफीमा एन्टिअक्सिडेन्ट र पोषक तत्त्वको उच्च मात्रा स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ । कफी पिउनाले धेरै गम्भीर रोगको जोखिम पनि कम गर्न सकिन्छ । यस्ता छन् सही मात्रामा कफी सेवन गर्दा हुने स्वास्थ्य लाभहरू ।

मधुमेहका बिरामीका लागि कफी फाइदाजनक हुन्छ

२०१४ को एक अध्ययन अनुसार, कफी सेवनले मानिसहरूमा टाइप–२ मधुमेहको जोखिम कम गर्छ । अन्वेषकहरूले ४८,००० भन्दा बढी व्यक्तिहरूको तथ्याङ्क अध्ययन गरे र चार वर्षसम्म दैनिक कम्तीमा एक कप कफी पिउनेहरूलाई मधुमेहको जोखिम ११ प्रतिशतले कम भएको पत्ता लगाए । तर मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा मात्र कफी पिउनुपर्छ ।

कफीले कलेजोको क्यान्सरको जोखिम कम गर्छ

२०१९ को एक अध्ययनले कफीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्ने निष्कर्ष निकालेको छ । यसअघि सन् २०१५ मा अमेरिकाका अन्वेषकहरूले पनि दैनिक दुईदेखि तीन कप कफी पिउनाले हेपाटोसेलुलर कार्सिनोमा र क्रोनिक कलेजो रोगको जोखिम ३८ प्रतिशतले कम गर्न सक्ने पत्ता लगाएका थिए ।

कफीले रक्तचाप नियन्त्रण गर्छ

कफीमा पाइने क्याफिनको सही मात्रामा सेवन गर्नु पनि फाइदाजनक हुन्छ । क्याफिनको सेवनले रक्तचाप र मुटुको स्वास्थ्यलाई फाइदा गर्छ । सन् २०१८ मा गरिएको एक अध्ययन अनुसार दिनमा तीनदेखि पाँच कप कफी पिउनाले हृदयाघातको जोखिम १५ प्रतिशतले कम गर्न सकिन्छ । शोधकर्ताहरूले भने कि दैनिक एक देखि चार कप कफी पिउने हृदय रोगको कारण मृत्यु दरमा कमी आउँछ ।

कफीले बोसो घटाउन मद्दत गर्छ

क्याफिनले शरीरको बोसो घटाउँछ । आजकल क्याफिन बोसो जलाउने पूरकहरूमा पाइन्छ । मोटो व्यक्तिको बोसो घटाउन यो निकै प्रभावकारी हुन्छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १४:५६