सूचनाको शक्ति - The Power Of Information

        

जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्तिको घोषणा

नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ । टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने र ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । साथै उनले टिकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए ।

त्यस्तै नागरिक उन्मुक्तिले लाल आयोगको प्रतिवेदन तीन दिनभित्र सार्वजनिक गर्न समेत माग गरेको छ । अन्यथा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ । पछिल्लो फैसला अनुसार रेशम आजीवन जेलमा बस्ने छन् । तर, फैसला पुनरावलोकन सदर हुने हो भने उनी जेलमुक्त हुन्छन् । यतिखेर उनी डिल्लीबजार कारगारमा छन् ।

सर्वोच्चले आजीवन कारवास फैसलालाई सदर गरेको भोलिपल्ट विज्ञप्ति जारी गर्दै न्यायलयप्रति विश्वास रहेको र पुनरावलोकनमार्फत आफू जेलमुक्त हुने रेशमले विश्वास व्यक्त गरेका छन् । उनले फैसलाविरुद्ध सामाजिक सञ्जालमा जे पायो त्यही नलेख्न भन्दै कार्यकर्ता र शुभचिन्तकलाई आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १४:५०