सूचनाको शक्ति - The Power Of Information

        

सागर ढकालले डडेल्धुरामा तिरेनन् कोठाभाडा

प्रतिनिधिसभा निर्वाचनका बेला डडेल्धुरामा कोठाभाडा लिएरका स्वतन्त्र उम्मेदवार सागर ढकालले भाडा नतिरेको पाइएको छ । ढकालले आठ महिनादेखिको भाडा तिरेका छैनन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–५ विद्युत् रोडमा कोठा भाडा लिएका ढकालले आठ महिनादेखिको भाडा नतिरेको घरधनी सीतादेवी भाटले बताइन् । कोठामा ताला लगाएर ढकाल सम्पर्कविहीन रहेको उनको भनाइ छ ।

‘महिनाको तीन हजारका दरले भाडा हो । सुरुका तीन महिनाको भाडा नौ हजार दिनुभयो । असोजदेखिको आठ महिनाको बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ ।’

भाडा नतिरे प्रहरीकोमा निवेदन दिने तयारीमा रहेको भाटले बताइन् । ढकाल दुई महिनादेखि साउथ सुडानमा रहेको उनका भाई जनक ढकालले जानकारी दिए । ‘उहाँहरूले कोठा छोड्ने भन्ने कुरा थियो । तर, साथीहरूले छोड्नु भएको रहेनछ,’ उनले भने, ‘म भाडाको बारेमा घरबेटीसँग कुरा गर्छु । दाई १७–१८ दिनपछि मात्रै नेपाल फर्किनुहुन्छ ।’

गतवर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ढकाल पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए । देउवाले २५ हजार ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार ढकालले १३ हजार ४२ मत ल्याएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १४:४३