सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाको बयान सकियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ जनाको बयान सकिएको छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसीको बयान सकिएको हो ।

यस्तै, सोही प्रकरणमा मुछिएका सानु भण्डारी, केशव दुलाल, सागर राई, गोबिन्द चौधरी, रामशरण केसी र टंककुमार गुरुङको बयान पनि सकिएको छ ।

काठमाडौं प्रहरी परिसरका अनुसार सो प्रकरणमा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजीत राई रहेका छन् । उनले ५ करोड भन्दा बढी रकम लिएको खुलासा भएको छ ।

यसैगरी टोपबहादुर रायमाझीले ३ करोड, खाँडले १ करोड २३ लाख बढी, टेकनारायण पाण्डेले ५० लाख, नरेन्द्र केसीले ५ लाख बढी, सन्दीप रायमाझीले ४० लाख र रामबदादुर थापाका छोरा प्रतीक थापाले १ करोड बढी रकम बुझेका थिए ।

प्रहरीले बयान सकिएकाहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध मानव बेचविखन तथा ओसारपसार, सार्वजनि पद दुरुपयोगलगायतको मुद्दा चलाउने गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । यसका लागि थप तीन चार दिनको समय लाग्ने बताइएको छ ।

सोही प्रकरणमा आत्मसमर्पण गरेका आङटावा शेर्पाको भने बयान लिने क्रम जारी छ । उनलाई प्रहरीले २ दिनको म्याद थप गरी बयान लिन लागेको हो ।

सोही प्रकरणमा मुछिएका फरार पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक थापा र ईन्द्रजित राइका छोरा निरज राइको खोजी कार्य जारी छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०८:१३