सूचनाको शक्ति - The Power Of Information

        

सुपारी तस्कर समूहसँग ओली कनेक्सन

सुपारी तस्करहरूको विवादमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘कनेक्सन’ रहेको रहस्य खुलेको छ । दुई दशकदेखि सुपारी तस्करीमा संलग्न झापा बिर्तामोडका एक व्यापारीले उद्योग संगठन मोरङ र मोरङ व्यापार संघमा दिएको निवेदनले ओली कनेक्सन खुलाएको हो ।

सौर्य एयरलाइन्सका सञ्चालक दीपक पोखरेलको नेतृत्वमा रहेको ‘सुपारी तस्कर’का एक साझेदार प्रदीप मित्तलले २०७८ असोज महिनासम्ममा १२ हजार टन सुपारी र ३५० टन पोस्तादानाको कारोबार भएको खुलाएका छन् । मित्तलले आफ्नो ८० करोडको हिसाब विराटनगरका दुई साझेदार प्रदीप मुरारका र दिनेश राठीले नदिएको र त्यसका लागि मध्यस्थता गरिदन भन्दै निवेदन दिएका हुन् ।

मित्तलका अनुसार साझेदारहरूले २०७७ साउन १९ मा भएको बैठकबाट सुपारी आयात गर्ने सहमति गरेका थिए । यसपछि २०७७ असोजमै अर्को बैठक गरी उनीहरूबीच सेयरको बाँडफाँड भएको थियो । तर, मुरारकाले एकपक्षीय रूपमा आफूलाई १८ प्रतिशतको साझेदारबाट किनारा लगाएको मित्तलको भनाइ छ ।

उनले निवेदनमा झापाका चित्र कुइँकेल र होम पाण्डेको सहयोगमा ओली प्रधानमन्त्री भएका वेलामा सुपारीको कोटा प्राप्त भएको बताएका छन् । त्यसपछि झापाका दीपक पोखरेल र गोविन्द सरियासहितको टिम बनेको थियो । चित्र र होमको ओलीसँग घनिष्ठ सम्बन्ध छ । दुबैको मूलघर झापाको बिर्तामोडस्थित गरामुनीमा छ । हाल दुबै धेरैजसो काठमाडौंमै बस्छन् ।

चित्र सुखानी हत्याकाण्डका सहिद कृष्ण कुइँकेलका भाइ हुन् । बहुदल आएपछि चित्र र होम दुबैले साझेदारीमा व्यवसाय सुरु गरेका थिए । सुपारी तस्री गरेको रकमले उनीहरूले विभिन्न सिमेन्ट उद्योगमा लगानी गरेका छन् । होमले बिर्तामोडमा ठुलो होटल पनि खोलेका छन् । ओलीले आफु प्रधानमन्त्री हुँदा विचौलिया मोती दुगडलाई उद्योग राज्यमन्त्री नै बनाएका थिए ।

दुगर्डमार्फत ओलीले सेटिङमा धेरै काम गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार दुगडले ओलीबाट आफ्नो र स्वार्थ समूहको धेरै काम गराएका थिए । मित्तलले साझेदारबीच भएको सहमतिविपरीत नाफाको प्रलोभनमा परेर अर्को बाटोबाट सुपारी निकासी गरी सहमति किन तोडियो भन्ने प्रश्न उठाएका छन् । तर, उनले निवेदनमा कुन बाटोबाट सुपारी निकासी गर्ने सहमति भएको थियो र कुन बाटो प्रयोग गरेर ल्याइयो भन्ने खुलाएका छैनन् ।

मित्तलले आफूसित मुरारका र राठीले सुपारी र पोस्तादानाको रकम लिएर कारोबार गरेको तर हिसाबकिताबको आम्दानी चाहिँ नदिएको भन्ने दुखेसो पनि गरेका छन् । आउन बाँकी रहेको १२ हजार टन सुपारी र १ हजार ६५० टन पोस्तादानामा मुरारकाकै प्रपञ्चमा आफूलाई १८ प्रतिशतको साझेदारबाट हटाइएको मित्तलको दाबी छ ।

उनले आफूले हिसाब माग्दा मुरारका र राठीले नबुझिने गरी सानो कागजको टुक्रामा लेखेर दिएको र हिसाबको विस्तृत विवरण नखुलाइएको बताएका छन् । नेपालमा इन्डोनेसियाबाट आयातित सुपारीको अधिकांश हिस्सा चोरी निकासी भएर भारत पुर्याइन्छ । उनले आफ्नो सुरुको सेयर ६ प्रतिशतबाट १८ प्रतिशत बनाइएको र फेरि अर्को बैठकमा २१ प्रतिशत सेयर दिइएको खुलाएका छन् ।

उनले मुरारका र राठीका तर्फबाट अन्य साझेदारलाई बेइमानी र धोका भएको आरोपसमेत लगाएका छन् । यसैबीच, सुपारी तस्कर समूहले गत वर्ष त्यही सुपारीलाई नेपालको हो भन्ने झुटो उत्पत्तिको प्रमाणपत्र बनाएर भारत निकासी गरेको थियो । गत २०७८ साउनमा यसरी निकासी भइरहेको सुपारी नेपाल प्रहरीले भारतीय भूमिबाट पक्राउ गरेर इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएपछि सुपारीको अवैध धन्दा छताछुल्ल भएको थियो ।

उद्योग संगठनका पदाधिकारीले मित्तललाई यसरी झुटो कागज र उत्पत्तिको प्रमाणपत्र बनाएर सुपारी भारत निकासी गरेको मन नपरेको अर्थ लगाएका छन् । मित्तलले आफूले र अन्य सबै साझेदारले आयात गरेको सुपारीको मूल्यमा किलोको २० देखि ३० रुपैयाँको अन्तर परेको बताएका छन् । तर, उनले आफ्नो (मित्तलको) फरक रेसियोलाई मात्र मुरारका र राठीले हिसाब गरेको मुरारका र राठीले आफ्नो रेसियोको चाहिँ हिसाबै नगरेको भन्ने आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०७:३९