सूचनाको शक्ति - The Power Of Information

        

विश्व उच्च रक्तचाप दिवस आज मनाइँदै

विश्व उच्च रक्तचाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सरकारका विभिन्न निकाय लगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ ।

विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदै छ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।

स्रोत : रासस
प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ०७:३०