सूचनाको शक्ति - The Power Of Information

        

बैजनाथ गाउँपालिकामा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन

बैजनाथ गाउँपालिकामा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन गरिएको छ । बैजनाथ गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालनमा ल्याइएको हो । शिविरको गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले शुभारम्भ गरेकी हुन् ।

स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले दिएको जानकारी अनुसार बैजनाथको वडा नम्बर २ र ४ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।

४० वर्ष माथीका नागरिकको मृगौलाको अवस्थाबारे बुझ्न मृगौलाको जाँच गरी समयमै पत्ता लगाई रोग निदान तथा उपचारमा सहज हुने हेतुले यो कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख शाहीले बताए ।

शिविर अन्तरगत वडा नम्बर २ मा १ सय ४५ जना र वडा नम्बर ४ मा १ सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । सो क्रममा गाउँपालिका उपाध्यक्ष रोकायले यस्तो जाँच सबै वडामा गरिने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जनताको स्वास्थ्यप्रति सजग रही रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु उत्तम हुने बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १८:०९