सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्णको बयानमै चलखेल, मुद्दा कमजोर बनाउन सहयोगी सक्रिय

यो मुद्दा १० जेठभित्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ । धेरै अभियुक्त भएकाले थुनछेकमै एक साता लाग्ने भएकाले पूर्व गृहमन्त्री बालकृष्ण खाण अझै दुई साता थुनामा रहने निश्चित छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थलाई जोगाउन भित्रभित्रै चलखेल जारी राखेपनि प्रहरीले बलियो प्रमाणको आधारमा कारबाही अगाडि बढाएकाले यस प्रकरणबाट जो कोहीलाई उम्कन सजिलो छैन । तर पनि अपराधीलाई जोगाउने र पक्राउ परेकाको मुद्दा कमजोर बनाउन विभिन्न समूह सक्रिय छन् ।

पक्राउ परेको ६ दिनपछि मात्र पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान हिजोदेखि सुरु भएको छ । पाँच दिनसम्म लम्बिनुको कारण खाणकै स्वार्थमा भएको स्रोत बताउँछ । अन्य अभियुक्तहरूको बयानबारे जानकारी लिएर मात्र उनले आफ्नो बयान दिने मनसाय बनाएको प्रहरी स्रोत बताउँछ । खाणले सन्चो छैन भनेपछि बयान रोकिएको छ ।

यसका लागि उनलाई प्रहरीकै अधिकारीहरूले सघाइरहेका छन् । प्रहरीकै कोठामा बसेर उनले सहयोगीसँग पटक पटक छलफल गर्दै आएको स्रोतले बताएको छ । आफुविरुद्ध बलियो प्रमाण भएपछि पुर्पक्षका लागि थुनामा जाने जोखिम धेरै छ । त्यसकारण उनी आत्तिएका छन् र आफुविरुद्धका प्रमाणलाई कमजोर बनाउन लागिपरेका छन् ।

त्यसका लागि केही भ्रष्ट प्रहरी अधिकारीको उनले साथ लिएका छन् । यसअघि पक्राउ परेका सचिव टेकनारायण पाण्डेले मन्त्रीकै लागि आफुले बिचौलियासँग पैसा मागेको आफ्नो बयानमा बताइसकेका छन् । केशब दुलालसँग ह्वासएपमा पाण्डेले पैसा मागेको विवरण प्रहरीले फेला पारेको छ । गृहमन्त्री हुँदा खाणले बिचौलिया समूहलाई फाइदा हुने गरी पटक पटक विभिन्न निर्णय गरेकाले उनलाई उम्कन सहज भने छैन ।

१३ मंसिर ०७८ मा मन्त्रिपरिषद्बाटै बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वायनमा लैजाने निर्णय गराएका थिए । सो निर्णयमा नेपालमा रहेका शरणार्थीलाई तेस्रो देश पुनस्र्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत विकास साझेदार राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थालाई अनुरोध गर्ने निर्णय गरिएको थियो ।

मन्त्रिपरिषद्को निर्णय भएको पाँच दिनपछि १८ मंसिर ०७८ मा गृहले निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गरेको थियो । त्यही महिना गृहमा सक्कली प्रतिवेदन कीर्ते गरी नक्कली प्रतिवेदनलाई आधिकारिताक दिइएको थियो । त्यसैका लागि बिचौलियाले उनीहरुलाई पटक पटक पैसा दिएका थिए ।

साथै जेठमा अर्काे निर्णय गराएर यस विषयमा गठन भएको एक समिति म्याद थप गर्नेदेखि सो उपसमितिलाई गठन गर्ने अधिकार दिने र पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयनमा लैजान सुझाव मागेका थिए । जसअनुसार गृहमन्त्री जस्तो पदमा बसेर उनले आफ्ना नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउने योजनामै प्रत्यक्ष संलग्न देखिन्छ ।

यी प्रमाणका आधारमा छुट्न गाह्रो हुने भएपछि खाणले प्रहरीलाई फकाएर अनुसन्धान प्रभावित पार्ने प्रयास गरिरहेका छन् । त्यसका लागि कांग्रेसका केही नेताहरू पनि सक्रिय भएर लागेका छन् । खाणले एक दर्जन वकिल पनि खडा गरिसकेका छन् । यो मुद्दा १० जेठभित्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ । धेरै अभियुक्त भएकाले थुनछेकमै एक साता लाग्ने भएकाले खाण अझै दुई साता थुनामा रहने निश्चित छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १५:२८