नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले राजनीतिक तथा उच्च पदस्थसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव टेकनारायण पाण्डेसहित १४ जनालाई काठमाडौंका विभिन्न हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सामान्यतया प्रहरीले पक्राउ गरेका अभियुक्तलाई थुनामा राख्ने स्थान फरक भए पनि निर्धारित ठाउँ एकै हुने गर्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआइपी अभियुक्तलाई भने प्रहरीले बसोबासका लागि अन्य अभियुक्त राख्नेभन्दा अलग्गै व्यवस्थापन गरेको छ । नेकपा एमालेका निलम्बित सचिव रायमाझीलाई प्रहरी वृत्त सोह्रखट्टेको हिरासतमा राखिएको छ ।
पक्राउ पुर्जी जारीपछि २० बैशादेखि फरार रहेका उनी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ पासिकोट भन्ने ठाउँबाट पक्राउ परेका थिए । रायमाझीलाई वृत्तका प्रहरी निरीक्षक (इन्सपेक्टर) बस्ने कोठामा राखिएको छ । त्यस्तै पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।
उनलाई परिसरका डीएसपीको कोठामा बेडसहितको व्यवस्था गरेर छुट्टै राखिएको छ । खाँणसँगै पक्राउ परेका उनका निजी सचिव नरेन्द्र केसीलाई सिंहदरबार वृत्तमा राखिएको छ । पूर्वमन्त्री रायमाझीलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखेपछि त्यहाँ रहेका केसीलाई सिंहदरबार सारिएको हो । त्यस्तै नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पनि सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।
उनलाई पनि वृत्तमा छुट्टै कोठामा राखिएको छ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी, हिजो सोमबार पक्राउ परेका कांग्रेसका पूर्वसांसद आङतावा शेर्पा, तत्कालीन गृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई पनि प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
दाङका सन्देश शर्मा दरबारमार्ग वृत्तको हिरासत, मोरङका केशव दुलाललाई कालिमाटी वृत्तको हिरासत, मोरङका सागर राईलाई टेकु परिसरको हिरासत, ललितपुरका सानु भण्डारीलाई जनसेवा वृत्तको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पाँचथरका कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासत, टोखाका रामशरण केसीलाई टेकु परिसरको हिरासत, सुनसरीका गोविन्द चौधरीलाई टेकु परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसै प्रकरणमा मुछिएका ईन्द्रजीत राईका छोरा निरज राई भने पक्राउ पुर्जी जारीपछि फरार छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा, बालकृष्ण खाँण पत्नी मञ्जु, एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक र प्रेम राईको नाम पनि यस प्रकरणमा जोडिएको छ । यद्यपी उनीहरु अहिलेसम्म पक्राउ भने परिसकेका छैनन् ।
सत्यपाटी संवाददाता । काठमाडौं