नेपाल प्रहरीका एक सिनियर अधिकृतले डिभीका कारण जागिर गुमाएका छन् । एसपी बढुवाको प्रतिस्पर्धामा अग्रस्थानमा रहेका डिएसपी राजेश थापा एसपी त हुन पाएनन् नै जागिरबाट समेत राजीनामा दिनुपरेको छ । गत शुक्रबार प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा सिफारिस भयो । डिएसपी थापा वरियतामा एक नम्बरमा थिए ।
यसअघि पनि छुटेकाले यसपटक पर्ने निश्चित जस्तै थियो । तर, डिभीमार्फत उनले अमेरिकाको पिआर प्रक्रिया अघि बढाइसकेको उनका प्रतिस्पर्धीले चाल पाए । त्यसपछि बर्खास्त हुनसक्ने भन्दै उनलाई राजीनामा दिन लगाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । उनको डिभी काण्डको फाइदा डिएसपी राजन भुजेललाई भयो ।
यसपटक पूर्णरुपमा टप २२ भित्र परेकालाई मात्र बढुवामा पारिएको छ । भुजेल २२ औं नम्बरमा बढुवा भएका छन् । थापाले राजीनामा नदिएको भए उनी छुट्ने थिए । यसपटकको बढुवामा ठूलो भने चलखेल भएन । वरियतामा २२ भित्र रहेकाको नम्बर मात्र तलमाथि भएको छ ।
यसले एक किसिमले पावर नभएका पनि चलखेल बिना बढुवामा परेका छन्, त्यो राम्रो हो, तर कार्य सम्पादनमा कमजोरहरू पर्दा काबिल अधिकृतहरुमाथि भने अन्याय भएको चर्चा प्रहरीमा छ । बढुवामा परेका श्यामकुमार राई, मिलन केसीजस्ता पटक–पटक कारबाहीमा परेकाहरु पुरस्कृत हुँदा अंगुर जिसी, प्रदीप क्षेत्री, श्यामबाबु ओलिया, राजन लिम्बू, निरञ्जनदत्त भट्ट लगायत भने छुटेका छन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै वरियता नमिची बढुवा गर्ने बताएका थिए । यसले विगतमा चलखेल गरेर अगाडि परेकाहरुलाई फाइदा हुँदा विगतमा अन्यायमा परेकाहरु झन् अन्यायमा परेका छन् । ‘आइजिपीसाब नै गत वर्ष एसएसपीबाट डिआइजी हुँदा १३ बाट १ नम्बरमा बढुवा हुनुभयो,’ एक प्रहरी अधिकारी भन्छन् ।
उनले थप भने, ‘सायदै कार्य सम्पादन मूल्याङ्ककै आधारमा उहाँलाई त्यसरी अघि लगिएको थियो होला, अहिले बढुवामा चाँही कार्य सम्पादन नहेर्ने हो भने राम्रो काम गर्ने र नगर्ने बीच के फरक रह्यो र ?’ एसपी बढुवासँगै प्रहरीमा डिएसपीका ४४ पद रिक्त भएका छन् । जसमा २०७० सालमा भर्ना भएका १४८ जना इन्सपेक्टरको टोली छ । डिएसपी बढुवामा पनि इन्सपेक्टरमा जस्तै टप ४४ भित्रका मात्र पर्ने सम्भावना रहेको बताइन्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं