पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पर्याप्त मात्रामा पानी पिउनाले धेरै रोगबाट बचाउँछ र शरीरलाई स्वस्थ राख्छ । चिसो पानी पिउनुको सट्टा तातो पानी पिउनु बढी स्वस्थ हुन्छ भनिन्छ । जसका कारण मानिसहरू प्राय तातो पानी पिउने गर्छन् ।
जसको तौल बढी हुन्छ, उनीहरूले पनि तातो पानी पिउने गर्छन् । धेरै तातो पानी पिउँदा तौल घट्छ भन्ने उनीहरूको धारणा छ । घाँटी दुख्ने, रुघाखोकी लाग्दा पनि मानिसहरू तातो पानी पिउने गर्छन् ।
तर विज्ञहरूका अनुसार चिसो र तातो पानी भन्दा सामान्य पानी पिउनु बढी प्रभावकारी हुन्छ । कब्जियतको समस्या हुँदा पनि मानिसहरू बिहान तातो पानी पिउने गर्छन् । तर धेरै तातो पानी पिउनु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । जानौँ तातो पानी स्वास्थ्यका लागि कति फाइदाजनक र कति हानिकारक हुन सक्छ ?
तातो पानी पिउनुको फाइदा
कब्जियतबाट राहत
हल्का मनतातो पानी पिउनाले पेट सफा हुन्छ र मल त्यागमा कुनै समस्या हुँदैन । अपच र एसिडिटीको समस्या भएमा मनतातो पानी पिउन सकिन्छ । यस कारणले खाना खाएपछि कब्जियतको समस्या हुँदैन र पेटको दुखाइ कम हुन्छ ।
तौल घटाउन सहयोग
खाना पचाउन तातो पानी प्रभावकारी हुन्छ । बिहान बेलुका खाना खाइसकेपछि हल्का मनतातो पानी पिउनुपर्छ, यसले तौल घटाउन सक्छ । स्वास्थ्य लाभका साथै मन शान्त रहन्छ र धेरै भोक पनि लाग्दैन ।
पाचन प्रणालीमा सुधार
पाचन शक्ति बढाउन तातोपानी सेवन गर्न सकिन्छ । मनतातो पानीले पेट र आन्द्रालाई हाइड्रेट गर्न मद्दत गर्छ । यस्तो अवस्थामा तपाईँले सही मात्रामा तातो पानी पिउन सक्नुहुन्छ ।
तातो पानी पिउनुको बेफाइदा
मिर्गौलामा प्रभाव
शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । तर धेरै तातो पानी पिउनाले डिहाइड्रेसन हुन सक्छ र मिर्गौलालाई असर गर्छ । तातो पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्दैन र मिर्गौला बिग्रन थाल्छ ।
निद्रामा प्रभाव
राति सुत्नुअघि तातो पानी पिउनुभयो भने निद्रामा असर पर्छ । राति मनतातो पानी पिएर सुत्दा पिसाब बढ्नुका साथै रक्त नलीका कोशिकाहरूमा चाप बढ्न सक्छ । निद्राको प्रभावका कारण थकान महसुस हुनुका साथै अन्य शारीरिक तथा मानसिक समस्याहरू देखा पर्न सक्छन् ।
डिहाइड्रेसनको समस्या
एक अध्ययन अनुसार शरीरको ५५–५६ प्रतिशत भागमा पानी हुन्छ । पानी स्वास्थ्यका लागि प्रभावकारी हुन्छ । यसले शरीरलाई हाइड्रेट गर्छ र विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । तर तातो पानी पिउनाले शरीरलाई हाइड्रेट गर्दैन, तर डिहाइड्रेसनको समस्या बढाउन सक्छ ।
इलेक्ट्रोलाइट्समा प्रभाव
अत्यधिक पानीले रगतमा इलेक्ट्रोलाइट्सलाई कोशिकामा भन्दा बढी पातलो गर्न सक्छ । रगत र कोशिकाहरूबीच सन्तुलन कायम राख्न कोशिकाहरूमा रगतको पानी तानिन्छ । यसले कोशिकाहरू सुन्निने र मस्तिष्कमा दबाब बढाउँछ । टाउको दुख्ने र अन्य समस्या हुन सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं