सूचनाको शक्ति - The Power Of Information

        

तरकारी खेतीबाटै करोडौँको मालिक

सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएका छन् ।

लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट रु सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् । एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाई छ ।

दैनिक तीन–चार क्विन्टल टमाटर बेचिरहेका उनले टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी रु ४० देखि ५०सम्म थोक मूल्यमा टमाटरका साथै तरकारी पनि दैनिक रु १० हजारको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन् ।

बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा रु १५–१६ लाख आम्दानी हुँदै आएको छ । उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ ।

बञ्जाडेले भने, ‘अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।’

पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक छन् । सामान्य परिवारका जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन ।

महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाएका हुन् ।

उनले भने, ‘गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ ।’ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रो लगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गरेका उनलाई रु पाँच करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ ।

किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ । तरकारीबाट वर्षमा रु १० लाख सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाएका बञ्जाडेले रु तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए ।

पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साहै समस्या छ । बारीमा आकाशे पनि सङ्कलन गर्न ५० हजार लिटरको आकाशे पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाएबका छन् । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन् ।

वर्षात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । ‘अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा गर्व भयो’, पुष्कर नाथले भने, ‘पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्याए ।’

स्रोत : रासस
प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १६:२२