सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक मन्दीको असर

घरजग्गाको कारोबार, ‘चैतमा उत्साह, वैशाखमा निराशा’

बैंकिङ क्षेत्रमा तरलता सुधार हुँदै गएको छ । तर, यसको सकारात्मक प्रभाव अझै घरजग्गामा देखिएको छैन ।

व्यवसायीको अनुमानभन्दा वैशाख महिनामा घरजग्गाको कम कारोबार भएको देखिएको छ । चैतमा घरजग्गाको कारोबार बढेको थियो । वैशाखदेखि झनै बढ्ने अनुमान व्यवसायीको थियो ।

तर, वैशाखमा चैतको तुलनामा घरजग्गाको कारोबार र सरकारले पाउने राजस्व नै घटेको छ । वैशाखदेखि बैंकहरूको कर्जाको ब्याजदर सस्तो रहेको केही बैंकले घर बनाउनका लागि ब्याजदर नबढ्ने ‘स्किम’ समेत सार्वजनिक गरेका थिए ।

बैंकिङ क्षेत्रमा तरलता सुधार हुँदै गएको छ । तर, यसको सकारात्मक प्रभाव अझै घरजग्गामा देखिएको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार वैशाखमा ४२ हजार ४६१ वटा घरजग्गा लिखत पास भएको छ ।

चैत महिनामा ४९ हजार १५० लिखत पास भएको थियो । चैतमा सरकारले घरजग्गा कारोबारबाट चार अर्ब ५१ करोड राजस्व संकलन गरेको थियो । वैशाखमा तीन अर्ब ६८ करोड राजस्व संकलन गर्यो ।

चैतको तुलनामा वैशाखमा ८३ करोड रुपैयाँले सरकारले पाउने राजस्व घटेको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि नै घरजग्गा कारोबार गत आर्थिक वर्षको जस्तो भएको छैन । चालु आर्थिक वर्षमा सबैभन्दा बढी संख्यामा घरजग्गा कारोबार चैतमा भएको थियो ।

चैतमा देखिएको उत्साहले वैशाखदेखि थप कारोबार बढ्ने अनुमान थियो । तर, कित्ताकाटको अन्योल कायमै छ । बैंक तथा वित्तीय संस्थाको तरलताप्रति बजार अझै आश्वस्त हुन सकेको छैन । सरकारले कित्ताकाट गर्न दिने निर्णय गरे पनि कार्यान्वयनमा अझै जटिलता छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:४४