सूचनाको शक्ति - The Power Of Information

        

टोपबहादुर रायमाझीलाई लगियो सरकारी वकिलको कार्यालय

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ । टोबहादुर आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् ।

उनलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको हो । यो ठगी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् । अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ । रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ ।

यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परेका छन् । आजै पूर्वगृहमन्त्री खाँणको बयान गराइएको छ । उनको बयान सकिसकेको छ । उनीहरू माथि म्याद थप गराइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:१३