सूचनाको शक्ति - The Power Of Information

        

आरजु राणालाई प्रहरीले नपत्याएपछि…

नेपाली कांग्रेसका सांसद आरजु राणा देउवाले आफूलाई प्रहरीले नपत्याएको भन्दै गुनासो गरेकी छन् । आज (सोमबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले आफूले ‘फेक’ अडियोबारे उजुरी दिँदा प्रहरीले दर्ता गर्न नमानेको र अलमल गरेको भन्दै गुनासो गरेकी हुन् ।

उनले भनिन्, ‘मैले ६ दिनअघि मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रकरणमा संलग्नता भनेर बनाइएको फेक अडियो फोरेन्सिक टेस्ट लागि सीपीआई र साइबर क्राइम ब्युरोमा दिएको थिए । दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरूले विश्वास गर्नुहुन्न होला सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तर, उजुरी दर्ता गराउन तीन घण्टा लाग्यो । त्यसको पनि म जवाफ माग्न चाहन्छु । किन दर्ता गर्न अलमल भयो ?’

उनले ‘फेक’ अडियोबारे गृहमन्त्रीलाई प्रश्न पनि गरिन् । ‘६ दिन हुँदा पनि यो फेक हो कि होइन भनेर किन पत्ता लाग्न सकेको छैन ?’ उनले भनिन्, ‘म त झनै आतुर छु, फेक अडियो मेरो मात्रै बनेको पनि होइन । अरु अरुको पनि बनेको छ । तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ?’ सांसद आरजुले यो प्रकरणमा आफ्नो नाम जोडेर संचारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको समेत बताइन् ।

उनले भनिन्, ‘यस प्रकरणमा मेरो नाम जोडेर मेरो चरित्र हत्या गरिएको छ ।’ उनले त्यो टेपबारे सरकार सत्यासत्य चाँडै उजागर गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सरकारले यो टेपबारे चाँडै सत्यतथ्य उजागर गरोस् र को दोषी हुन् को चाहिँ होइन त्यो प्रस्ट आउनुपर्छ ।’ उनले यहाँ फेक न्यूज र फेक मिडियाको पराकाष्ठा भएको भन्दै यसमा सरकारको सुपरभिजन हुनपर्ने बताइन् ।सांसद आरजुले नक्कली भुटानी शरणार्थी काण्ड देशका लागि सबैभन्दा लज्जास्पद काण्ड भएको समेत बताइन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १५:००