नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो ।
गत बिहीबार पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले हिजो ४ दिनको म्याद थप गरिएपछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो ।
टेकु परिसरको हिरासतमा ४ दिनदेखि रहँदै आएका खाँणले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’
यद्यपि, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफ्नो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं