सूचनाको शक्ति - The Power Of Information

        

वैदेशिक रोजगारीबाट फर्केकाले आजदेखि दुई वटा मोबाइल ल्याउन पाउने

वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आजदेखि २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज जेठ १ गतेबाट लागू गरेपछि दुई वटासम्म मोबाइल नेपाल ल्याउन पाउने भएका हुन् ।

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइल ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सूचनामा भनिएको छ । तर, यो सुविधा वैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने विभागको भनाई छ ।

निजी प्रयोगका माल वस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरे पछि यो सुविधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन् । ‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणले सर्वसाधारणका लागि भनेको छ ।

निजी प्रयोगका माल वस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयमले दर्ता गर्न सक्ने छन् । यसरी ल्याइएको मोबाइल दर्ताका लागि विदेशबाट फर्किदा नागरिकता वा राहदानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ०७:३४