सूचनाको शक्ति - The Power Of Information

        

कलाकार किरण केसीको गीत सार्वजनिक

‘राता मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय हुनुहुन्छ। पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहनुभएका केसीले एकसाथ तीन गीत तयार गरेका छन्।

उनले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’मा गायनसँगै अभिनय पनि गरेका छन्। यस्तै ‘ए रात’ बोलको गीतमा उनको अभिनय मात्र छ। नेपाल भाषाको गीत इन्टरनेटमा सार्वजनिक भए पनि बाँकी गीत क्रमशः सार्वजनिक गरिने उनले जानकारी दिए।

“गीतको अडियो तयार भएको लामो समयपछि भिडिओ बनेको हो। मैले सक्दो मेहनत गरेर गीत तयार गरेको छु”, हास्यकलाकार केसीले भने, “गायन मेरो प्राथमिकतामा पर्छ। मेरो रूचिलाई बुझेर मलाई धेरैले गीत उपहार दिनुभएको छ। त्यो मेरो लागि अमूल्य उपहार हो।” उनले नेपाल भाषाको गीत गाउँदा केही कठिनाइ भए पनि मेहनतले सम्भव भएको प्रतिक्रिया दिए।

हास्यकलाकार केसीले अभिनय यात्रा नै मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिचलचित्रमार्फत सुरु गरेका थिए।

‘छन्त खं सँ’ र ‘होला होला भन्दै’मा शब्द र सङ्गीत मदनकृष्ण श्रेष्ठले दिनुभएको छ। “किरणले अभिनय गर्ने, गाउने, लेख्ने लगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिरहनुभएको छ। उनको सक्रियताले मलाई ऊर्जा प्राप्त हुन्छ”, हास्यकलाकार श्रेष्ठले भने।

कलाकार हरिवंश आचार्यले गीत हेरेपछि गायनमा रहर मात्र नभइ मेहनत नै देखिएको बताए। “कुनै पनि विधा सजिलो हुँदैन। गायनमा झनै अभ्यास चाहिन्छ। किरणजीले आफूलाई यो लायक बनाउन निकै मेहनत गर्नुभएको छ। म उहाँसँग सुरुवाती समयदेखि नै सहकार्य गरिरहेको छु”, हास्यकलाकार आचार्यले भने। हास्यकलाकार केसीका अनुसार दोस्रो गीत जेठ १५ र तेस्रो गीत असार १५ मा सार्वजनिक हुनेछ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ०७:१९