सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले जेठ ४ गते प्रश्नोत्तर गर्ने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागि हुने तयारी भएको जानकारी दिनुभयो ।

उहाँले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताउनुभयो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताउनुभयो । उहाँले सकेसम्म सोमवार नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने कुरा पनि भएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरुले प्रश्न सोध्न पाउने पनि स्पष्ट पार्नुभयो ।

उहाँले संसदीय समितिहरुको बैठक सोमवार नै बस्न सक्ने बताउनुभयो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १८:४०