सूचनाको शक्ति - The Power Of Information

        

मिनी चिडियाखानाका रूपमा विकास हुँदै भालुढुंगा

जिल्लाको पर्यटकीयस्थल भालुढुंगालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ । इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुंगा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो ।

विभिन्न ओढार र हराभरा रहेको यो सामुदायिक वनमा चिडियाखानाका रुपमा विकास गर्ने सोचअनुरुप पछिल्लो पटक तीन वटा रतुवा मृग राखिएको छ । ओढारे भालुढुंगा सामुदायिक वन समूहका कोषाध्यक्ष रजिन खड्काले इलाम सवडिभिजन वन कार्यालयमा रहेका तीन रतुवा मृगलाई सामुदायिक वन समूहको संरक्षणमा राखिएको बताए ।

विभिन्न क्षेत्रबाट उद्धार गरी राखिएका एक भाले र दुई पोथी रतुवा मृगलाई इलाम नगरपालिकाका पशु प्राविधिकको सहयोगमा सामुदायिक वनमा लगेर राखिएको छ । उनले मृग पालनका लागि इलाम नगर पर्यटन प्रवर्द्धन समितिमार्फत रु एक लाख सहयोग भएकाले तारजालीले घेरिएको जानकारी दिए । कोषाध्यक्ष खड्काले सुरेन्द्र राईमार्फत मृगको बासस्थान निर्माणका लागि फलामे रड र प्राविधिक उपलब्ध गराइएको बताए ।

भालुढुंगाको नामले परीचित यो वन क्षेत्रमा निकट भविश्यमा भालुको अनुहारासमेत देख्न पाइने भएको छ । भालुपालनका लागि नगर पर्यटन प्रवद्र्धन समितिले प्रयास थालेको हो । यस्तै हाल बेण्डम जातको कुखुरा र मजक कली परेवा पनि पालिएको छ । मृगका लागि इलाम कृषि बिज भण्डारका पशुपति भट्टराईले मासिक ५० केजी चारो उपलब्ध गराउन थालेका छन् । इलाम सदरमुकाम छेउमै रहेको भालुढुंगा क्षेत्रको विकासमा स्थानीयस्तरमा गठित भालुढुंगा पर्यटन प्रवद्र्धन विकास संस्थासमेत क्रियाशील छ ।

उक्त संस्थाले यो क्षेत्रलाई भविश्यमा मिनी चिडियाखानका रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने जनाएको छ । मृग, खरायो, बाँदर, स्याल, दुम्सीजस्ता रैथाने जनावरलाई संरक्षण गरी नमुना पार्कसमेत बनाइने सामुदायिक बनका अध्यक्ष हरि गुरुङले बताए । भालुढुंगा पर्यटन क्षेत्र आसपासमा होमस्टे सञ्चालन गरिएको छ । त्यहाँसम्म जानका लागि इलाम कारागार हुँदै कालोपत्रे सडकसमेत निर्माण भइसकेको छ । इलाम बजारभन्दा नजिक रहेकाले धेरै पर्यटक सो स्थानमा जाने गरेका छन् । यस क्षेत्रलाई चिडियाखानाका रुपमा विकास गर्न स्थानीय सरकारले समेत सहयोग उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १७:५५