सूचनाको शक्ति - The Power Of Information

        

पाथीभरा जाने पदमार्गमा ‘फाइबर’को छहारी

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो ।

हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

यसका लागि कोशी प्रदेशको पर्यटन मन्त्रालयबाट रु ५० लाख र पाथीराभरा क्षेत्र विकास समितिको रु ४० लाख गरी रु ९० लाख खर्च हुने भएको उनको भनाइ छ । पाथीभरा पदमार्गमा गत तीन वर्षदेखि क्रमिकरुपमा ट्रस लगाउन सुरु गरिएको हो ।

यसअघि पाथीभरा मन्दिरदेखि ६०० मिटरसम्म फाइबर ट्रस लगाइसकिएको छ भने अहिले ४०० मिटरका लागि काम भइरहेको हो । यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दायाँबायाँ रेलिङ लगाएको छ पदमार्गमा शौचालय, खानेपानीका धारा, विश्रामस्थल लगायतका संरचना समेत निर्माण भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा धामदेखि माथिल्लो फेदी बजारसम्मको दुई किलोमिटर दूरीमा ट्रस लगाउने योजना छ । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेकाले हिउँदयाममा बाक्लो हिमपात हुन्छ । पाथीभरा दर्शनमा आन्तरिक तथा बाह्य गरी वर्षमा लाखौँ तीर्थयात्री आउने गरेका छन् । पाथीभरा जाने पदमार्गमा फाइबर ट्रस लगाएसँगै हिमपात र वर्षा हुँदा तीर्थयात्रीलाई सहज हुनेछ ।

स्रोत : रासस
प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १७:०५