सूचनाको शक्ति - The Power Of Information

        

सहकारीको १० अर्ब कुम्ल्याउने शर्मा दम्पत्ति सिआइबीको फन्दामा

शिव शिखर बहुउदेश्यीय सहकारी संस्थामा हिनामिना गर्ने दम्पत्ति सिआइबीको फन्दामा परेका छन् । सो सहकारीकी सञ्चालिकामध्ये एक गीता शर्मालाई प्रहरीले पक्राउ गरेको छ भने उनका श्रीमान केदारनाथ शर्मा फरार छन् ।

सर्वसाधारणको करिब १४ अर्ब निक्षेप रहेको सो सहकारीबाट शर्मा दम्पत्तिले मात्र करिब १० अर्ब हिनामिना गरेका छन् । सहकारीको पैसा आफ्नो विभिन्न कम्पनीमा लगानी गरी उनीहरुले हजारौं सर्वसाधारणको पैसा उठाएका हुन् ।

गीता र सहकारीका सञ्चालक सदस्य पुष्कर मल्ललाई सिआइबीले पक्राउ गरेको छ । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा ३५ वटा शाखा कार्यालय तथा सेवा केन्द्र रहेको सो सहकारी लामो समयदेखि संकटमा छ ।

संस्थाले हजारौँ निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न सकेको छैन । १६ प्रतिशत ब्याज दिने भन्दै विज्ञापन गरेर उनीहरूले देशभरिबाट ठूलो निक्षेप उठाएका थिए । उपत्यकाका तीनै जिल्लाका साथै विराटनगर, कोहलपुर, पोखरा, हेटौँडा, भरतपुर, बुटवल, बाग्लुङ, कञ्चनपुर, कैलाली लगायत जिल्लामा संस्थाको सेवा केन्द्र छ ।

ती ठाउँका पीडितहरूले निक्षेप फिर्ताका लागि संघर्ष गर्दै आएका छन्  । सहकारी विभागले पनि यस विषयमा पटक–पटक छलफल गराउँदै आएको छ । गत १२ वैशाखमा गीतालाई समेत उपस्थित गराई छलफल गरेको थियो । जसमा उनले आफ्ना सबै सम्पत्ति बेचेर संस्थाको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

साथै, १० दिनभित्र श्रीमानलाई उपस्थित गराउने बताएकी थिइन् । शर्मा दम्पती लगायत सहकारीका सबै सञ्चालकको सम्पत्ति रोक्का गर्न सहकारी विभागले नै यसअघि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ । विभागकै पत्राचार अनुसार सिआइबीले ठगी मुद्दामा अनुसन्धान अघि बढाएको हो ।

उपत्यकाका पीडितहरूलाई ब्युरोमा तथा अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा सम्पर्क गर्न सिआइबीले आग्रह गरेको छ । पीडितसँग उजुरी लिएर ठगी मुद्दामा कारबाही अघि बढाउन सो सहकारीको शाखा कार्यालय रहेका जिल्लाका प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । नियामक निकायले ध्यान नदिदा सो सहकारीमा हजारौं सर्वसाधरणको रकम डुबेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १७:०३