सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सचेतना

औषधि खानुअघि बिस्कुट खानु हानिकारक, अस्पतालमै बढी प्रयोग

सुगर फ्रि बिस्कुट भन्ने पनि गरिन्छ । बिस्कुट कहिल्यै सुगर फ्रि हुँदैन । बिस्कुट मैदाबाट बन्ने भएकाले त्यो खाएर पचेपछि चिनीमै परिणत हुन्छ ।

तपाईं हामी धेरैले चिया बिस्कुट खाएर औषधि खाने गरेका छौँ । रोग निको पार्न औषधि खाँदै गर्दा बिस्कुट खाएर औषधि खाने बानीले अर्काे नयाँ रोगको जन्म गराउने विज्ञहरू बताउँछन् । औषधि खानुभन्दा अगाडि बिस्कुट खानु स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञहरूको ठहर छ । बिस्कुट स्वस्थकर खानेकुरा होइन ।

डा.अरुणा उप्रेतीको भाषामा बिस्कुट पत्रुखाना हो । मैदा र ट्रान्स फ्याट (अति खराब चिल्लो पदार्थ) मिसाएर बनाइएको बिस्कुट कयौँ दिनदेखिको बासी हुन्छ । बिरामी भेट्न जाँदा पनि बिस्कुट, जुस हर्लिक्स बोकेर जाने चलन छ । यस्ता खानेकुराले थप अर्काे रोग निम्तने र स्वस्थ छु भन्ने अरु सामान्य व्यक्तिलाई पनि रोगी बनाउने विज्ञहरू बताउँछन् ।

बिस्कुट खानेहरूमा मोटोपन, मधुमेह, मुटुका समस्या देखिन सक्छ । सामान्यतया, दुई अवस्थामा खाने गरी डाक्टरले औषधि प्रिस्क्राइब गर्छन् । एक खाली पेटमा र दोस्रो खानापछि । विशेषगरी खानापछि खानुपर्ने औषधिभन्दा अगाडि चिया र बिस्कुटको प्रयोग अत्याधिक भएको पाइन्छ । डाक्टर नर्सले पनि बिरामीलाई चिया बिस्कुट खाएर औषधि खान सल्लाह दिएको पाइन्छ ।

घरमा मात्रै होइन बिरामी भएर अस्पताल भर्ना हुँदा खाली पेटमा खान नहुने भनिएको औषधि खानुपर्यो भने सजिलोका लागि चिया बिस्कुट खाएर खान्छौँ । आइसीयुका बिरामीलाई पनि चिया र बिस्कुट नै मगाइन्छ । अस्पतालमा रहँदा औषधि खाँदा चिया र बिस्कुटको लत अन्य समयमा बसेको कतिपय बताउँछन् ।

डाक्टर, नर्सले नै बिस्कुट खान भनेपछि अरु बेलामा पनि बिस्कुट खान प्रेरित गरेको पनि भेटिए । काठमाडौं ताहाँचालकी मोनालाई अस्पतालमा चिया र बिस्कुट खान थालेपछि घरमा पनि उही बानी लाग्यो । उनका श्रीमान उच्च रक्तचाप र मधुमेहका बिरामी हुन् । औषधि खाइरहनु पर्ने भएकाले मोनाका श्रीमानको झोलामा सधैंजसो बिस्कुट भेटिन्छ ।

बिरामी भएपछि बिस्कुट खानुपर्छ भन्ने मानसिकताको विकास भएको मोना बताउँछिन् । स्वास्थ्यकर्मीको निगरानीमा रहेका बेला खाने गरेको बिस्कुटको बानी घरमा गएर पनि सिक्ने गरेको मोनाले देखेकी छन् । केही समयअघि कान्तिबाल अस्पतालमा पाँच वर्षका छोरालाई बिस्कुट खुवाइरहेको अवस्थामा सृजनालाई भेट्यौँ ।

ज्वरो र खोकीले ग्रस्त भएपछि नुवाकोटबाट छोरालाई इमरजेन्सीमा ल्याएकी सृजनाले छोरालाई औषधि खुवाउनपर्ने भएकाले बिस्कुट खुवाएको बताइन् । उनले घरमा अन्य समयमा पनि औषधि खुवाउँदा धेरैजसो बेला दुध बिस्कुट नै दिने गरेको सुनाइन् । केही महिनाअघि हेटौँडाकी कमलालाई नर्सले आइसीयुमा रहेका छोराका लागि कालो चिया र बिस्कुट ल्याउन भनिन् ।

नर्सले कमलालाई मात्रै होइन आइसीयुमा रहेका अरु बिरामीका आफन्तलाई पनि कालो चिया र बिस्कुट मगाइन् । छोराको घाँटीमा पेनको बिर्काे अड्किएपछि कमलाले कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्रमा ल्याएकी थिइन् । आइसियुमा रहेका अरु बिरामीका आफन्तलाई पनि कालो चिया र बिस्कुट ल्याउन भनिरहेका थिए ।

बिस्कुट बिरामीलाई थप बिरामी बनाउन सक्छ : प्रा.डा.मनसा थापा

पोषणविद् प्रा.डा. मनसा थापा रोग अनुसार बिरामीलाई पोषणको आवश्यक पर्ने बताउँछिन् । विस्कुट स्वास्थ्यका लागि फाइदाजनक नभएकाले बिरामीले खान नहुने डा.थापाको भनाइ छ । ज्ञान नभएकै कारण धेरैले औषधि खुवाउनुअघि विस्कुट खाने गरेको ठहर उनको छ । ‘खाली पेटमा औषधि खाँदा ग्याष्ट्रिक र एसिडिटी हुन्छ भनेर डाक्टरले केही खानेकुरा खाएर औषधि खाऊ भन्नुभएको हुन्छुु,’ प्रा.डा. थापा भन्छिन् ।

उनका अनुसार कुन खानेकुरा कस्तो हुन्छ भन्ने कुरा सर्वसाधरणलाई थाहा नहुन सक्छ । मैदाबाट बनेको बिस्कुटमा क्यालोरीभन्दा अरु केही पोषणतत्व नपाइने भएकाले बिस्कुट स्वास्थ्यका लागि फाइदाजनक नरहेको उनले स्पष्ट पारिन् । मैदाले ग्याष्ट्रिक र एसिडिटी मात्रै होइन मोटोपना पनि बढाउने उनी बताउँछिन् । बिरामीलाई औषधिले प्रभावकारी काम गर्न पोषिलो खानेकुरा महत्वपूर्ण हुने तर्क उनको छ ।

औषधिले शरीरमा राम्रो प्रतिक्रिया दिन पोषिलो र सही खानेकुराको छनौट हुनपर्ने डा.थापा बताउँछिन् । ‘औषधि खानुअघि पेटमा केही खानेकुरा पर्नुपर्यो भन्ने अवधारणा छ । बिस्कुट, पाउरोटी, दुनोट, पप लगायतका अस्वस्थकर खानेकुरा खाने गरेको पाइन्छ । यसले बिरामीलाई थप बिरामी बनाइरहेको पत्तो हुँदैन,’ उनी भन्छिन् ।

बिस्कुटको ठाउँमा पोषिलो सर्वाेत्तम पिठो खान सकिने डा.थापाको सुझाव छ । मकै, गहुँ, चना मिसिएको सर्वाेत्तम पिठो दुध र पानीमा घोलेर खाँदा बिरामीलाई फाइदा पुग्ने र पोसिलो पनि हुने उनी बताउँछिन् । सुगर फ्रि बिस्कुट भन्ने पनि गरिन्छ । उनका अनुसार बिस्कुट कहिल्यै सुगर फ्रि हुँदैन । बिस्कुट मैदाबाट बन्ने भएकाले त्यो खाएर पचेपछि चिनीमै परिणत हुन्छ ।

मैदाले मुटुरोगी, मधुमेह, साधारण स्वस्थ व्यक्तिलाई फाइदा गर्दैन । विश्व स्वास्थ्य संगठनले मैदाको सट्टा गहुँको पिठो अथवा रेसादार खानेकुरालाई सुझाव दिएको छ । ‘अस्पतालमा खान थालेपछि घरमा पनि खानुपर्ने रहेछ भनेर बिरामीले सिक्छन् । बानी नबसोस् । घरमा गएर गहुँको रोटी, फापर, कोदो दहीसँग खाए अति राम्रो,’ थापा भन्छिन् ।

सुविधाजनक र तुरुन्तै पाइने भएकाले अस्पतालमा बिस्कुटको प्रयोग अधिक हुने गरेको उनी बताउँछिन् । मधुमेहको बिरामी छ भने चिया र बिस्कुट फाइदाजनक होइन । बिरामीलाई कुन किसिमको खानेकुरा उपयुक्त हुन्छ भन्ने सवालमा चिकित्सकले पोषणविद्लाई रिफर गर्नुपर्ने तर्क गर्छिन् थापा । तर नेपालमा यस्तो परिपाटी अत्यन्तै कम छ ।

जसरी चिकित्सकले मानव शरीरको अङ्गअङ्ग जानेका हुन्छन्, बिग्रिएका अङ्ग बनाउँछन् । त्यसरी नै पोषणविद्ले खानेकुरा शरीरभित्र प्रवेश गरेपछि शरीरका हरेक अङ्गलाई कसरी पोषित बनाउने भन्ने जिम्मा लिएका हुन्छन् । थापा तर्क गर्नुहुन्छ, हाम्रो कमजोर मानसिकता र त्रुटीपूर्ण बानीले बिरामीलाई खानपानबारे जानकारी दिन सकिएको छैन ।

बिरामी भेट्न जाँदा घरमै बनाएको खानेकुरा लैजानुपर्छ : डा.अरुणा उप्रेती

जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती अस्पतालमै पत्रु खानाको प्रयोग धेरै हुनु दुखद् रहेको बताउँछिन् । बिस्कुट, जुस, पाउरोटीको प्रयोग अस्पतालमा अधिक हुने डा.अरुणाको बुझाइ छ । चिनीको जाँच गराउन स्वास्थ्यसंस्था पुग्ने गरेका मधुमेहका बिरामीलाई स्वास्थ्यकर्मीले नै बिस्कुट, पाउरोटी, फलफूलको जुस खानुस् भन्ने गरेको आफूले भेटेको उनी बताउँछिन् ।

कतिपयले पत्रु खानेकुरा खाएरै औषधि खान्छन् । डा.अरुणाका अनुसार लामो समयसम्म खानेकुरालाई सुरक्षित राख्न प्रयोग गरिएको चिल्लो पदार्थले बिस्कुटलाई अस्वस्थकर बनाउँछ । बिस्कुटको सट्टा हलुवा, खीर, जाउलो दिँदा उत्तम हुने सुझाव उनको छ ।

‘पहिला पहिला बिस्कुट नहुँदा पनि बिरामीलाई गिलो रोटी, हलुवा दिने गर्थ्यौँ,’ डा.अरुणा भन्छिन्, ‘बिरामी भेट्न जानेहरूले पनि घरकै खानेकुरा लान सकिन्छ । प्रसुती अस्पतालमा सुत्केरी भेट्न जाँदा धेरैले ज्वानो झोल बोकेर जाने चलन छ ।’ बजारीकरण बढ्दै जाँदा ती पौष्टिक आहार विस्थापित भएको तर्क उप्रेतीको छ ।

त्यहाँको प्रशासनले क्यान्टिनमा ज्वानोको झोलको व्यवस्था गर्न लगाएको उदाहरण दिंदै अरुणा भन्छिन्, ‘क्यान्टिनमा बिरामीले खान मिल्ने खानेकुराको व्यवस्था अस्पताल प्रशासनले गराउन मिल्ने र प्रशासनले चाहे तुरुन्तै अस्पतालमा पत्रु खानामा रोक सकिन्छ ।’

जतिसुकै ब्रान्डेड भनिए पनि बिस्कुट स्वस्थकर होइन : डा.प्रकाशराज रेग्मी

मैदाका अलावा ट्रान्स फ्याट पनि हुने भएकाले बिस्कुट अस्वस्थकर खानेकुरा रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । प्रशोधित काब्रोहाइडेट र अति खराब चिल्लो पदार्थबाट बिस्कुट बनेको हुन्छ । जस्तोसुकै ब्रान्डकोे भए पनि प्याकेटमा तयारी गरिएको बिस्कुट स्वास्थ्यका लागि हानिकारक नै हुने उनले स्पष्ट पारे ।

कतिपयले औषधि खानु अगाडि बिस्कुटको प्रयोग गर्ने गरेको आफूले देखेको र यो खराब तरिका भएको डा. रेग्मी बताउँछन् । डा. रेग्मी भन्छन्, ‘कहिलेकाँही एक दुई वटा बिस्कुट खानु छुट्टै परिवेश हो तर धेरैले बिस्कुट खाने बानी लागिसकेको थाहा पाउँदैनन् । औषधि खानकै लागि उनीहरू बिस्कुट खान्छन् । यो स्वस्थ बानी होइन ।’

बिस्कुटले औषधिलाई नबिगारे पनि अरु रोग निम्त्याउने डा.रेग्मीको भनाइ छ । ’बिस्कुट भनेको जङ्कफुड हो, बिरामीले औषधि खाँदा जङ्कफुड खाइरहेका छन्, जङ्कफुडले स्वास्थ्यलाई हानी मात्रै गर्ने हो,’ उनी भन्छन् । कृत्रिम स्रोतबाट प्रप्त हुने अर्थात खाद्य उद्योगमा उत्पादन गरिने औद्योगिक ट्रान्सफ्याट स्वास्थयका लागि अत्यन्तै हानिकारक रहेको रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार ट्रान्स फ्याट धेरै भएको खानाका कारण कालेस्टोरोल बढ्ने, मोटोपना, उच्च रक्तचाप, मधुमेह लगायतका समस्यादेखि हृदयघात, मष्तिष्कघात र क्यान्सरजस्ता रोगहरू लाग्ने सक्छ । यस्ता रोगबाट निम्न र मध्यम आय भएका राष्ट्रहरूमा वर्षेनी पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

जतिसुकै ब्रान्डेड भनिए पनि बिस्कुट स्वस्थकर नरहेको उनी जिकिर गर्छन् । औषधि खाँदा नियमित रुपमा बिस्कुट खाँदा अरु रोगहरू निम्तन सक्छन् । बिस्कुट खाएर औषधि खाने संस्कारको विकास भइसकेको डा रेग्मी स्वीकार गर्छन् । यसलाई रोक्न प्रत्येक व्यक्तिको भूमिका बराबर रहेको उनी बताउँछन् ।

स्रोत : हेल्थपाटी
प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १६:३५