सूचनाको शक्ति - The Power Of Information

        

जुवाखालबाट समातिए कांग्रेस नेता, छुटाउन दौडधुप

कांग्रेस नेतासहित ११ जना जुवाखालबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ बानेश्वरको कात्यायनी चोकस्थित सगोल कोइरालाको घरमा जुवा खेलिरहेका कांग्रेस नेता रामचन्द्र खड्कासहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खड्कासहित ४८ वर्षीय जय सूर्यवंशी, ४४ वर्षीय खड्गबहादुर रजन, ६५ वर्षीय श्यामभक्त मुनाकर्मी, ३६ वर्षीय जोर्तेन्द्र खत्री,२९ वर्षीय मुकेश राज गिरी, ४१ वर्षीय कुमार ढुंगेल खत्री, ४५ वर्षीय गुरुप्रसाद आचार्य, ३६ वर्षीय दुधराज वन, ३१ वर्षीय भविन्द्र केसी र ४७ वर्षीय चुडामणी केसी छन् ।

प्रहरी वृत्त बानेश्वरले उनीहरुबाट आठ लाख १० हजार ४०० रुपैयाँ र १२ बुक बतास बरामद गरेको छ । खड्का नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । २०७० सालको संविधान सभा निर्वाचनमा उनी रामेछाप निर्वाचन क्षेत्र नम्बर २ बाट उठेका खड्का नेकपा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठसंग पराजित भएका थिए ।

उनी रामेछाप कांग्रेसका पूर्व सभापति हुन् । सो मुद्दा छिटो सिडिओ कार्यालयमा बुझाएर छुटाउन आर्थिक चलखेल भइरहेको छ । स्रोतका अनुसार खड्का निकट व्यक्तिहरु बनेश्वर वृत्तका डिएसपी तथा काठमाडौंका सिडिओलाई पैसा खुवाएर छुटाउने दौडधुपमा लागेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १४:४३