सूचनाको शक्ति - The Power Of Information

        

साहित्य : कविता

माघमहात्म्य

घाम निस्लोट भएर सुत्यो
म अँध्यारो कोठाको पुरातन चकटीमा बसेर
सुन्न थालेँ माघमहात्म्य
गोमा ब्राह्मणी र शिव शर्माको
बिबाहको रत्यौली
र हेरिरहेछु अमूक आँखाले टाढा क्षितिजमा झैँ
अर्धनग्न महादेवको मृदंगनाँच
घामका पखेटा कुँजिएजस्तै
निःशब्द भए मेरा
चैतन्यशील मथिंगलका नसाहरु
नायकहरुले प्युन थाले इतिहासको मदिरा

जब खस्छन् आकाशबाट एकहुल ताराहरु
अनि मेरो लयले खोज्न थाल्छ जूनको टहक
छाम्न थाल्छु आफ्नै आङ
बुढो घामले डामेका काला खतहरु
हेर्न थाल्छु भूइँ मान्छेका सपना टिपेर
कोरिएको कुनै दस्तावेजको लिखत
दक्ष प्रजापतिको यज्ञजस्तो
गणतन्त्रको चदुवामुनी विचारहरुको कोटीहोम

जब मेरो जस्केलाबाट छिर्छ
चिसो कुहिरो बोकेको रातो घाम
अनि मेरो आङभरि उम्रन्छन्
प्रतिरोधका तिखा काँढाहरु
हेर्छु गहिरोसँग
मेरो नियतिमाथि कसले खडा गर्यो
अनर्गल कथाको अनन्त शृंखला
जो हरयाम मलाइ तर्साउँन खोज्छ
श्री स्वस्थानीमा सतीदेवीको योनी पतन
र महात्म्य बिनाको जीवनको लय

मेरो लय जीवनका रङ्गहरुको विन्यास
जव म आफ्ना हातहरुले खेलाउँछु वृक्षका जरा
र बृद्धका पुराना कथाका पानाहरु
अनि म देख्छु
आफ्नै अङ्गमा औँसाहा पर्न खोजेको
आदिम घाउहरुको गीती कथा
जसले मलाइ हररात
ऐठन गराएर भयभित तुल्याउँछ
शिव शर्माको हाडखोर बटुलिरहेको नवराज
र हाडखोरहरुको जगमा उभिएको सरमहराम सत्ता

म ध्यानस्थ भएर सोच्दछु, आजकल
सिंहासनको कालो छायाँमुनी
कति हात्ती घुमिरहेछन्, राजा खोज्न
र कति नवराजलाई पहिर्याइरहेछन् फूलको माला
धमिराले खाएको माटाको भित्तोजस्तो
क्षत–विक्षत विचारका कुरूप अनुहार
शाली नदीमा कुस्ट रोगले ग्रस्त चन्द्रावती
एकाएक सुनको डोली चढेर रानी भएजस्तै
कति लाचार भएर चढिरहेछन सिंहदरवारको भर्याङ

म हेरिरहेछु यक्ष, गन्धर्व, किन्नरहरु
नन्दी, भ्रिङ्गी र योगीनीहरुको ताण्डव नृत्य
र ध्यानस्थ सुनिरहेछु
एकथान संविधानको चपरीमुनी
माघ महिनाको निस्लोट घामजस्तै
अगस्त्यमुनी भएर कुमारजीहरुको आज्ञा ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार ०८:०२