अनेक तनाब भारी नै बोकेको जस्तो । रातमा निद्रै लागेन । भोलिपल्ट बिहान भयो । सूर्यको उज्यालो चारैतिर छरियो । शनिबारको दिन थियो । दिक्क लाग्यो घर बस्न । मामाघरतिर लागेँ । धेरैपछि मामाघर गएको थिएँ । माइजूलाई देख्नासाथ नमस्ते गरेँ । माइजूले खुसी हुँदै मुसुक्क मुस्कुराउँदै नमस्ते फर्काउनुभयो । प्रफुल्लित मुद्रामा माइजूले भन्नुभयो, ‘आज कताबाट भान्जाबाबुले बाटो बिराउनुभयो ?’ मैले पनि मुस्कुराउँदै भनेँ, ‘माइजू हजुरहरूको मायाले भेट्न आएँ ।’
माइजूले खुसी हुँदै भन्नुभयो, ‘हो नि भान्जाभान्जी त झोलीका देउता हुन् । भान्जाभान्जी आएपछि घर नै पवित्र हुन्छ ।’ मैले भनेँ, ‘हो नि माइजू त्यसैले त आएँ नि ।’ माइजूले भन्नुभयो, ‘सुषमालाई लिएर आउनुपथ्र्याे नि भान्जा ।’ माइजूलाई जानकारी दिँदै भनेँ, ‘सुषमा माइती गएकी छिन् । अर्को पटक आउँदा लिएर आउँछु । माइजूले भन्नुभयो, ‘हो नि भान्जा सुषमालाई पनि नभेटेको धेरै भयो । मैले प्रसङ्ग बदल्दै सोधेँ, ‘मामा खोई त माइजू ?’
माइजूले मेरो उत्तर दिँदै भन्नुभयो, ‘के भन्नु भान्जा, मामालाई राजनीति लागेको छ । घर बस्नु नै हुन्न । सधैँ यस्तै त हो । कहिलेको अधिवेशन, कहिलेको चुनाव यस्तै हो । मामालाई सधैँ भ्याई नभ्याई छ । छोराछोरी अस्ट्रेलिया गए । घरमा कोही छैन । बा र म मात्र हुन्छौँ घरमा । मैले भनेँ, ‘हो नि माइजू घरै शून्य भयो । दुवै भाइबहिनी विदेश छन् ।’ माइजूले भन्नुभयो, ‘दुःख बिरामी हँुदा पानी दिने कोही छैन ।
मैले प्रसङ्ग बदल्दै सोधेँ, ‘हजुरबा खोई त माइजू ?’ माइजूले भन्नुभयो, ‘बा कोठामै हुनुहुन्छ । बिहानै जाडो छ । बाहिर निस्किनु भएको छैन । कोठामै चिया लगिदिएँ ।’ कुर्सीबाट उठ्दै मैले भने, ‘माइजू म हजुरबालाई भेट्छु’ भनेर म हजुरबाको कोठातिर लागेँ । हजुरबा बिस्तरामा टुक्रुक्क बसिरहनुभएको थियो । मैले ‘प्रणाम हजुरबा’ भनेँ । उहाँले नियाल्दै ‘प्रणाम’ भन्नुभयो । हजुरबाले एकहोरो हेर्दै भन्नुभयो, ‘मैले चिनिनँ को हुनुहुन्छ बाबु ?’ मैले परिचय दिँदै भनेँ, ‘हजुरको नाति सञ्जय चिन्नुभयो ?’ हजुरबाले टाउको हल्लाउँदै भन्नुभयो, ‘बल्ल चिनेँ बाबु । माइली छोरी राधाको छोरो । आँखा धमिला भए । मान्छे चिन्न गाह्रो हुन्छ ।’
मेरो नजर टक्क हजुरबामा अडियो । हजुरबाका लामा दारीजुँगा, कपाल सेतै फुलेका थिए । गालामा बत्तीस मुजा चाउरी परेको देखिन्थ्यो । श्रीस्वस्थानी व्रतकथाको पात्र शिवभट्ट ब्राह्मण जस्तो । मैले सोधेँ, ‘हजुरबा सन्चै हुनुहुन्छ ? हजुरबाले भन्नुभयो, ‘के सन्चो हुनु बाबु, काल पर्खेर बसेको छु ।’
मैले सान्त्वना दिँदै भनेँ, ‘होइन हजुरबा त्यस्तो भन्नु हँुदैन । काललाई पर्खिनै पर्दैन । काल आउने दिनमा ऊ आफैँ आउँछ ।’ हजुरबाले सही थप्दै भन्नुभयो, ‘त्यो त हो बाबु, तर बुढेसकाल साह्रै पट्यार लाग्दो छ । पल पल बिताउन साह्रै कठिन भइरहेछ । ऊ बेलामा सन्तानले डाँडाकाँडा ढाकून् भन्थे । त्यसैले बाह्र सन्तान जन्माइयो । अहिले दस सन्तान छन् । दुई सानैमा खेर गए । जति सन्तान भए पनि बुढेस कालमा एक्लै ।’
हजुरबाको कुरामा सही थप्दै भने, ‘हो नि हजुरबा बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काधै माथि ।’ विनादाँतको थोता गिँजा देखाउँदै मुसुक्क मुस्कुराउँदै हजुरबाले भन्नुभयो, ‘सही भन्यौ नाति । जति सन्तान भए पनि आफू त एक्लै । बुढेसकाल त नितान्त एक्लिँदो रहेछ । मैले हजुरबालाई सान्त्वना दिँदै भने, ‘हजुरबा हामी छौँ त । एक्लो नसोच्नू आफूलाई ।’
हजुरबाले सिरियस हुँदै भन्नुभयो, ‘यस्तै रहेछ बाबु संसार । कोही भएर हँुदो रहेनछ । छोरा पायो बुहारीलाई, छोरी ज्वाइँलाई हुन्छ । सन्तान आआफ्नो दुनियाँमा हुन्छन् । चाहिँने त जोडा नै रहेछ । बुढालाई बुढी, बुढीलाई बुढा साथ चाहिन्छ । यो राँडो भएर बाँच्नु त ढुङ्गा चपाउनु सरह हो । एक्लो बुढेसकाल पलपल मृत्युवरण गर्नु हो । राँडो भएर दुश्मनले पनि बाँच्नु नपरोस् ।’ हजुरबाको कुराले चसक्क बिझायो । मैले सम्झाउँदै भनेँ, ‘हजुरबा त्यस्तो मान्नुहँुदैन । जीवनलाई सहज रूपमा लिनुपर्छ ।
हजुरबाले आँखाभरि आँसु बनाउँदै भन्नुभयो, ‘बाबु बुढेसकाल आफैँ कष्टकर हुन्छ । त्यसमा पनि राँडोपन झनै जटिल छ । बुढी हुँदासम्म कहिल्यै गाह्रो भएन । बुढी सधैँ मेरो ख्याल गर्थिन् । सन्चो बिसन्चो भोको नाङ्गो दुःख सुख बुझ्थिन् । निद्रा नलागे बुढाबुढी गन्थन् गथ्र्यौं । तिम्री हजुरआमा साह्रै बुझ्झकी ज्ञानी थिइन् । उनको सामीप्यमा आनन्दित थिएँ । दैवको लीला उनी पहिला गइन् । उनको परमधाम भयो । म टुहुरो भएँ । श्रीमती आमाको अर्को रूप पनि हो बाबु । नारीबाट हरेक सुखभोग प्राप्त गरिन्छ । नारीपुरुष एकअर्काका परिपूरक हुन् । बुढी स्वर्गे भएको दस वर्ष भयो । त्यहाँदेखि म नितान्त टुहुरो भएँ । एक्लो भएँ । मुख बोल्ने कोही छैन । दुख्यो भनेर सुनाउने कोही छैन । शरीर शिथिल भयो । मनको कुरा पोख्ने ठाउँ छैन । भित्रभित्रै गुम्सिन्छु, छट्पटाउँछु ।
बुढो मानिसको कुरा सुन्न को चाहन्छ र ? जवानहरू आफैँमा व्यस्त, मस्त छन् । एक्लै नाना थरी सोच आउँछ । आफैँ पिरोलिन्छु । टोक्ला जस्तो एक्लोपन छ । पट्यार लाग्दा यी पलहरू छन् । आँखाको ज्योति धमिलो भयो । राम्रो ठम्याउन सक्दिनँ । टाउको दुख्छ, रिँगटा लाग्छ, प्रेसर बढ्छ । शरीरको हरेक पार्ट करकरी खान्छ । मर्ने गरी दुख्छ । रातमा पटक्कै निद्रा पर्दैन । अन्धकार रातहरू वर्षौँ लामा हुन्छन् । यी दिन, रातहरू वर्षौं जस्ता लम्बिएका छन् । दिन बिते रात बित्दैन । रात बिते दिन बित्दैन । पलपल तड्पिन्छु । हिँड्न सक्दिनँ । एकैठाउँमा एक्लै बस्दा बस्दा सोचेर दिमाख भरिन्छ । मिठोमसिनु पच्दैन । आहारा पनि घट्यो । शरीरमा शक्ति छैन । कमजोरीले थरथर काप्छु । छिनछिनमै स्मरणशक्ति हराउँछ । कति कुरा याद हुँदैन बिर्सिन्छु । हजुरबाको कुराले मर्माहित हुँदै सोधेँ, ‘हजुरबा हजुरको उमेरका साथी कोही छैन ?’
हजुरबाले गहभरिको आँसु पुछ्दै भन्नुभयो, ‘मेरा उमेरका सबै मरिसके । अब एउटा माथ्लाघरे न्यौपाने छन् । न्यौपाने यहाँ आउन सक्दैनन् । म पनि त्यहाँ जान सक्दिनँ । एक्लोपनले खाउँला जस्तो गर्छ । हिँड्न सकिँदैन । बुढो मानिसको नजिक हुन कोही चाहँदैन । दुःख र दुखीसँग नजिक हुन कोही चाहँदैन । आज भोलिको मानिसमा संवेदना नै छैन । अहिलेको मान्छे बुढाबुढी बिमारी देखेपछि भाग्छन् । अब त पुग्यो जिन्दगी । काल पनि छिटो लिन आउँदैन । कालको प्रतीक्षा गर्दै छु । हेर नाति बाबु, दिक्क छ बुढेसकाल ।
रिक्त छ बुढेसकाल
विरक्त छ बुढेसकाल ।
शिथिलताले गाँजेपछि,
तिक्त छ बुढेसकाल ।’
हजुरबाको वेदनाले मर्माहत हुँदै सान्त्वना प्रदान गर्दै भनेँ, ‘निरास नहुनू हजुरबा । म आउँछु फुर्सदको समयमा । मेरो बैङ्कको जागिर बिहानदेखि बेलुकीसम्म व्यस्त हुन्छु । एकछिन फुर्सद हँुदैन । शनिबार छुट्टीको दिन मिलाएर आउँछु । अर्कोदिन नातिनी बुहारी लिएर आउँछु । मेरा कुराले हजुरबाको अनुहार अलि उज्यालियो । निराशामा आशाको त्यान्द्रो अल्झियो । मुर्झाएको खुसी, पुनः बिउँतियो ।
सासूबुहारी मात्र घरमा थिए । सासूबुहारीको भनाभन भएछ । लडालड नै होला जस्तो परिस्थिति भए छ । अफिस सकेर घर फर्कें । दुवै सासूबुहारीको रुवाबासी थियो । दुवै घर छोड्न तयार थिए । आमाले रुँदै भन्नुभयो, ‘तेरी स्वास्नीले मरी जा राणी बुढी भनी । खाउँला जस्तो गरी । बोक्सिनी राक्षस्नी भन्नु नभन्नु सबै भनी, म बस्न सक्दिनँ यस घरमा । यस घरमा मेरो इज्जत छैन, सम्मान छैन कसरी बसौँ ? जान्छु देउघाट गएर बस्छु ।’
उता श्रीमती रुँदै भन्छिन्, ‘तिम्री आमाले अलच्छिनी, ठुलो भाग खान आएकी भनिन् । यसको त छायाँ हेर्न पनि मन छैन निस्की जा भनिन् । म मरे यो घरमा बस्न सक्दिन ।’ दुवैको कुराले सुनेर दिक्क भएँ । स्तब्ध मौन रहेँ । कसको पक्ष लिनु ? अब म के गरौँ ? शान्ति खोज्न कहाँ जाऊँ ? आमा र पत्नीलाई कसरी मिलाऊँ ? कसलाई लत्याऊँ ? कसलाई अँगालौँ ?
आमा मेरो रगत ।
पत्नी मेरै जगत ।
किन कठिन भयो ?
दुवैसँगको सङ्गत ?
श्रीमतीले गुनासो गर्दै भनिन्, ‘आजभोलि मेरो मतलब नै छैन । माया गर्दै गर्दैनौ । अफिस र सुत्न पाए हुन्छ तिमीलाई । बेलुकी म भान्साबाट कोठामा आउँदा मस्त निद्रामा थियौ । आजभोलि मोजमस्ती बाहिर हुन्छ होला ? त्यसैले घरमा केही मतलब छैन ।’
मैले श्रीमतीलाई भनेँ, ‘बिहानै दिमाग नचाट न, थकित मुडमा थिएँ । भुसुक्कै निदाएँ । श्रीमतीले अझै अबुझ हुँदै भनिन्, ‘पेटमा बच्चा आएदेखि परिवर्तन भयौ । पुरुष त साँच्चि नै भँमरा नै हुन् । फूलको रस हुँदासम्म झुम्मिने । रस सकिएपछि अर्को फूलमा चर्ने ।’
मैले भनेँ, ‘सुषमा तिम्रो भ्रम हो । अनेक शङ्का नगर न । तिम्रो बुढो अर्काको हुन सक्छ र ? अनेकौँ शङ्कामा नफस । आफैँलाई दुःख हुन्छ । मलाई पनि शान्तिले बाँच्न देऊ ।
मेरो गोरुको बाह्रै टक्का जस्तै गरेर भनिन्, ‘हो हो मलाई थाहा छ । पानीमाथिको ओभानो नबन । सर्पले काँचुली फेरेको जस्तो स्वरूप फेर्दा रहेछन् पुरुषले । सुरुमा नयाँ हुँदासम्म के के नै जस्तो चाट्ने । पुरानु हँुदै जाँदा रस चुसेको खोस्टा जस्तै गर्ने ।’
मैले श्रीमतीलाई नरम हँुदै सम्झाउँदै भनेँ, ‘त्यस्तो होइन सुषमा । अफिसको व्यस्तता छ । सत्य कुरा बुझ न । कति तनाब हुन्छ ।’
श्रीमतीले भनिन्, ‘कसैको नभएको तिम्रो अफिस । परिवारलाई टाइम दिनुपर्छ भन्ने थाहा छैन तिमीलाई ?’
मैले उनको प्रश्नको उत्तर दिँदै भनेँ, ‘थाहा छ, के गर्नु यस्तै व्यस्त अफिस पर्यो । कामले फुर्सद हुँदैन ।’
श्रीमतीले भनिन्, ‘व्यस्त छु भनेर जति आँखा छले पनि भयो । व्यस्तताको बहाना बनाएर झुक्याउँन कति सजिलो ?’
उनको कुराले दिक्क मान्दै भनेँ, ‘कति अबुझ हुन्छ्यौ सुषमा । एकाबिहानै झगडा नगर न । तिमी त अग्निपरीक्षा नै लिन्छ्यौ मेरो ।
म कसरी तिमीलाई विश्वास दिलाऊँ ? शङ्काले लङ्का पुर्याउँछ । आजैदेखि शङ्का गर्ने बानी छोड ।
मेरो हातको मोबाइल खोस्दै उनले भनिन्, ‘म तिम्रा हरेक गतिविधि हेर्छु । तिम्रो असली स्वरूप पत्ता लगाउँछु ।’
मैले भनँे, ‘पत्ता लगाऊ न त ।’
उनले मोबाइल चेक गर्दै भनिन्, ‘सुमित्रा भन्ने को हो फोन गर्ने ?’ मैले उत्तर दिँदै भनेँ, ‘हाम्रो बैङ्कमा प्राक्टिकल गर्न आउने विद्यार्थी हुन् । अफिसको कामले फोन गरेकी थिइन् ।’
फेरि रिसाउँदै भनिन्, ‘के काम थियो ?’
मैले उनलाई उत्तर दिँदै भनेँ, ‘अफिसको सोधपुछ गर्ने काम पर्छ नि । कस्तो कुरा नबुझेको । कस्तो शङ्कालु स्वाभाव हो तिम्रो त ।’ उनले अझै रिसाउँदै भनिन्, ‘बुझेँ मैले तिम्रो सोधपुछ ।’
मैले रिसाउँदै भनेँ, ‘के बुझ्यौ ?’
उनले पनि रिसाउँदै भनिन्, ‘जुन बुझ्नुपर्ने कुरा बुझेँ ।’
मैले रिसाउँदै भनेँ, ‘सुषमा विनाकारण बिहानै झगडा नगर । अनायासै दिमाग खराब गरिरहेकी छ्यौ ।’
केही समयमै घर पुगेँ । आमाले भित्रबाट बाहिर निस्कँदै भन्नुभयो, ‘बाइकको घुर्र घुर्र आवाज सुनेर हतारिँदै निस्किएँ । तिम्रो बाटो हेरिरहेकी थिएँ । खाना खाएकी छैन । तिमीसँगै खाना खान पर्खिरहेकी छु । मैले भनेँ, ‘आमा मैले त ससुरालीमै खाएर आएँ । हजुर खानु, ढिला भइसक्यो ।’ आमाले कर गर्दै भन्नुभयो, ‘जाऊँ न बाबु जति रुज्छ उति खाऊ । यहाँ त म खाऊ बाबु भन्छु । परदेशमा खाऊ बाबु कसले भन्छ तिमीलाई ?’ आमाको कुराले भावुक हुँदै भनेँ, ‘हो आमा, कसले खाऊ भन्ला र बिरानु मुलुकमा ? ल जाऊँ आमाछोरा सँगै खाऊँ ।
आमाले खाना पस्किँदै भन्नुभयो, ‘तिमीलाई आलु र मस्यौराको तरकारी मन पर्छ । त्यसैले मस्यौराको तरकारी पकाएँ ।’ मैले भनेँ, ‘आमा कति मेरो ख्याल गर्नुहुन्छ । सानु बच्चालाई जस्तै गरेर ।’ आमाले पस्केको खानाको थाल सार्दै भन्नुभयो, ‘हो नि बाबु, आफ्नो सन्तान सधैँ बालकै हुन्छन् । सधैँ आफ्नो सन्तान अबोध लाग्छ । आमाको मायाले पग्लिँदै भनेँ, ‘हो नि आमा सन्तानको माया विचित्रको हुन्छ । भातको गाँस निलेर आमाले प्रसङ्ग बदल्दै भन्नुभयो, ‘मेरी नातिनी सन्चै छ ? नातिनीको साह्रै न्यास्रो लाग्यो ।’ मैले भनेँ, ‘आमा हजुरकी नातिनी हाँस्छे बोल्छे ।’ आमाले दङ्ग पर्दै भन्नुभयो, ‘यति छिटो हाँस्ने बोल्ने भई नातिनी ?’
आमालाई खुसी पार्दै भनेँ, ‘हजुरकी नातिनीले मोहनी लगाउँछे । फुच्चीको झझल्को आइरहेको छ । फुच्ची आँखा वरिपरि घुमिरहेकी छ ।’ आमाले खुसी हुँदै भन्नुभयो, ‘साउँको भन्दा ब्याजको माया । नातिनीलाई कहिले देखौँ जस्तो भयो ।’ मैले भनेँ, ‘धन्दा नमान्नु आमा केहीपछि नातिनी आइहाल्छिन् । अनि खेलाउनुहोला आफ्नी नातिनी ।’ आमाले भन्नुभयो, ‘अरू केही समय त उतै बस्लान् ।’ मैले आमालाई बुझाउँदै भने, ‘आमा एक्लै हुनुहुन्छ । छिटो घर जानु भनेको छु सुषमालाई । छिट्टै आउँछिन् होला ।’
आमाले भन्नुभयो, ‘हो नि तिमी गएपछि शून्य हुन्छु । नातिनी भएपछि त अलि भुल्लिन्छु नि । दिन काट्न सजिलो हुन्छ ।’ अलि प्रसङ्ग बदल्दै भनेँ, ‘आमा खाना खाएर ब्याग तयार गर्नुछ । भोलि त साइत गर्नुपर्छ । त्यो कम्पनीले छिटो बोलायो । समयमा पुग्नुपर्छ ।’
खाना खाएर ब्याग मिलाउन थालेँ । आमाले नरमाइलो मान्दै भन्नुभयो, ‘भोलि नै जाने हो र बाबु ?’ मैले सरसामान मिलाउँदै भनेँ, ‘हो नि आमा । भिसा आइसक्यो समयमै पुग्नुपर्छ ।’ त्यही दिन सबै तयारी गरेँ । दिन त्यसै बित्यो । बेलुकी समयमै खाना खाएर सुत्यौँ । ब्युँझिदा बिहानीको पहरले स्वागत गरिरहेको थियो । एकाएक सम्झेँ आज त बाहिर जाँदैछु । घरदेखि टाढा बस्दा कस्तो हुन्छ होला ? त्रिभुवन विमानस्थलदेखि परको दृश्य कस्तो छ होला ?
अनेकौँ कौतुहल जाग्यो । उठेर फ्रेस भएँ । आमा पनि उठ्नुभयो । नित्य कर्ममा लाग्नुभयो । पूजापाठ गर्नुभयो । मैले चिया पकाएँ । आमाछोराले सँगै बसेर चिया पियौँ । आमाले गिलासको चिया सुरुप्प पार्दै भन्नुभयो, ‘कति समयका लागि जान्छौ बाबु ?’ मैले अनजान हँुदै भनेँ, ‘खोई आमा, केही थाहा छैन । एउटा बास बनाएर फर्कियाँै भनेको हो । हेरौँ के हुन्छ ? कस्तो हुन्छ ? आमा बिहानै निस्किन्छु । काठमाडौँमा धेरै काम छ । श्रममन्त्रालय जानु छ । अफिस समयमै पुग्नुपर्छ । म बिदा हुन्छु आमा ।’
आमाले भन्नुभयो, ‘केही त खाएर जाऊ बाबु । मैले भनेँ, ‘होइन आमा, बिहानै केही खान मन छैन ।’ आमाले दसैँमा जस्तै राता अक्षता मुछ्नुभयो । टिका लगाइदिनुभयो । ‘मेरा बाबुलाई ठेस नलागोस्, टाउको नदुखोस्, चिताएको पूर्ण होस्, भगवान् दाहिना होउन् । शुभयात्रा बाबु ।’ आशीर्वाद दिँदै भक्कानो छोडेर रुनुभयो । मैले पनि भावुक हँुदै आमालाई ढोग गरेँ । बलिन्द्र धारा आँसु बगे । मन क्षतविक्षत भयो ।
मस्तिष्कमा तुफान चल्यो
आफैँभित्र आगो बल्यो
आमाको काख छोड्दा,
यो मन जल्नु जल्यो ।
मैले कहिल्यै आमाको काख छोडेको थिइनँ । आमाभन्दा टाढा रहनु निक्कै कठिन थियो । तर पनि जिन्दगी चाहेको जस्तो कहाँ हुन्छ र । म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भने जस्तो भइरहेको थियो । सोच्यो एउटा, हुन्छ अर्को । म रुँदै रुँदै बाटो लागेँ । आमाले धोतीको सप्काले आँसु पुछ्दै हेरिरहनुभयो ।
सुरु भयो मेरो वैदेशिक यात्रा । पाइलाहरू अगाडि बढे । नजिकैको मेनरोडमा पुगेँ । बस स्टेसनमा बसेँ । काठमाडौँ जाने बस आइपुग्यो । हात उठाउँदै बस रोकेँ । ड्राइभरले बस रोक्यो । बसमा चडेँ, बसभित्र नजर चहा¥यो । खाली सिटमा गएर बसेँ । बस पुनः दगु¥यो । नारायणघाट हँुदै बस मोडियो । लामो रुटको बस तीव्र रफ्तारमा थियो । वनजङ्गल हरियाली थियो । मुग्लिन सडकखण्डमा बस हुँइकिरह्यो ।
बस मुग्लिन हँुदै पूर्व मोडियो । सानु दुई लाइनको महेन्द्र राजमार्ग, ठुला ठुला पहाड, सडक छेउमै त्रिशूली नदी अविरल बगिरहेकी, भिर, पाखाहरू हँुदै त्रिशूलीको किनारैकिनार बस अगाडि बढीरयो । बसको झ्यालबाट नियाल्दै थिए । सुन्दर प्रकृति मुस्कुराइरहेकी थिइन् । उषाकालीन समयले सौन्दर्य छरिरहेको थियो । पूर्वबाट सूर्य नारायणको उदय भयो । पहाडका चुचुरामा सूर्यको प्रकाशले स्पर्श ग¥यो । पखेराका कान्लाहरूमा अग्ला चुचुराको छायाँ देखिन्थ्यो । ठाउँ ठाउँमा झरनाहरू कलकलाइरहेका थिए । यात्राभरि नारायण गोपालको स्वरमा समधुर गीत घन्किरह्यो ।
आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ ।
मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ ।
गीतका हरेक शब्द शब्दमा आफैँ प्रतिबिम्बित भएँ । एकपछि अर्को सेन्टिमेन्टल गीतले भावुक भएँ ।
म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु ।
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।
यस्तै सेन्टिमेन्टल गीतहरू मेरै मनको भाका बोलिरहेका थिए । गीतका शब्द शब्दहरूले मन मस्तिष्क तरङ्गित भए । अविरल बहावको त्रिशूली नदीसँगै म पनि बगिरहेँ । सुसाइरहेकी त्रिशूली कानमा गुञ्जिइरह्यो । एकातिर विशाल त्रिशूली, अर्कातिर विशाल पहाडसँगै विशाल भिरबिचको सानो सडकमा बस दगुरिरह्यो । जति अगाडि बढ्यो यात्रा, उति मन कोमल हँुदै थियो । भौगोलिक वातावरण, प्रकृतिसँग लीन हँुदै थिएँ ।
मन तरङ्गित हुँदै थियो । आफैँभित्र उथलपुथल भएँ । त्रिशूलीसँगै भावनाहरू बग्दै गए । ती झरनाहरूमा निथ्रुक्क भिजिरहेँ । चिसो बताससँगै बहकिइरहेँ । उदीयमान सूर्यका किरणसँगै रङ्गिइरहेँ । ती अग्ला भिर पाखासँग साक्षात्कार भएँ । मन सिमलको भुवा जस्तै उडिरह्यो । प्रकृतिले बहार ल्यायो । उथलपुथल भएँ । कृष्णभिरको पहिरोसँगै आफैँभित्र पहिरो गयो । बतिला जस्ती छोरीलाई झल्झली देखेँ ।
भर्खरकी सुकोमल श्रीमतीको याद आयो । बुढी भएकी आमाको मुहार सम्झेँ । आँखा सजल भए । परेली निथ्रुक्क भिजे । तप तप आँसु झरे । कतै कसैले देख्छ कि भनेर सिटमा घोप्टो परे । पुरुषको आँखामा आँसु सुहाउँदैन भन्छ सामाजले । त्यसैले आफुलाई कठोर बनाउन खोजेँ तर विफल भएँ । पुरुषको पनि उही मन हो । कुनै पत्थर त होइन । कृष्णभिरको पहिरोसँगै आफैँभित्रको पहिरो रोकिएन । त्रिशूली नदीसँगै आँसुको भेल बगिरह्यो । पुरुषको मनभित्र आगो बले पनि, बाहिर बलियो देखिनुपर्ने ।
बलियो पुरुष बनाउन कुनै दिव्यास्त्र फेला परेन । आफैँलाई सम्हाल्न निक्कै प्रयास गरेँ । गाग्रीको पानी घोप्टिएको जस्तै राम्रैसँग पोखिएँ । छताछुल्ल छरपस्ट भएँ । घरबाट हिँड्दा भारी मन, अलि हलुको भयो । पोखिनु पनि आफूलाई हलुको बनाउनु हो । पीडाको पहाड बोके पनि सितिमिती पुरुषले आँसु झार्दैनन् । पुरुषले रुँदै हिँड्न असुहाउँदो मानिन्छ ।
समाजले पुरुषलाई बलियो खम्बाको दर्जा दिएको छ । त्यसैले पनि कति आँसु लुकाएर पीडाको भारी बोक्न विवश भएँ । मनको व्यथा अप्रत्यक्ष हुन्छ । झारेको आँसु प्रत्यक्ष हुन्छ । वन डढेको देखिन्छ । मन डढेको कसले देख्ने ? यात्रा जारी थियो । अनेकौँ तरङ्ग बुन्दै थिएँ । आफैँभित्रको कथा मनस्थितिमा घुमिरह्यो । जति जति अगाडि लाग्यो । उति उति परिवारको याद गाढा भयो । नारायण गोपालको सुमधुर स्वरमा रहेको गीत यसरी गुञ्जिइरह्यो,
झरेको पात झैँ भयो,
उजाड मेरो जिन्दगी ।
निभेको दीप झैँ भयो,
उदास मेरो जिन्दगी ।
कारुणिक गीतहरूमा मेरो आफ्नै मनको भाका घन्किरहेको थियो । त्यो गीत मेरै हो जस्तो लाग्यो । बस आफ्नै रफ्तारमा मलेखु पुग्यो । बस सुस्त गतिमा अडियो । खालासीले चिच्याउँदै भन्यो, ‘खाज होटेलमा चना, खिर र आलुको तरकारी थियो । खिर र आलुको तरकारी खाएँ । खाजाको पैसा तिरेँ । पुनः बसमा गएर बसेँ । अरू यात्रुहरू पनि खाजा खाएर बसमा बसेँ । पुनः बस घुमाउरो बाटोमा अघि बढ्यो । भिरहरूका अनेकौँ मोडहरू थिए । निक्कै धरापिलो बाटोमा बस आफ्नै रफ्तारमा थियो । अर्को दिसातिरबाट आउँदै गरेको बससित मित लागाउने जस्तो अवस्था हुन्थ्यो । दुई लाइनको सडक, अत्यन्त साँघुरो थियो । भिरको मोडहरूले आउँदै गरेको बस छेल पथ्र्यो । हरेक मोडहरूमा बस लुकामारी खेलेको भान हुन्थ्यो । छेल परेका मोडहरूमा दुवै दिशाका बसहरू जुध्लान् जस्तो लाग्दै थियो । अलिकति चिप्लिए सिधै त्रिशूलीमा पौडिने अवस्था ।
बसभरिका यात्रु ड्राइभरमाथि विश्वस्त थियौँ । ड्राइभरले निक्कै सजग हुँदै गाडी चलाउँदै थिए । त्यसै सन्दर्भमा गीत बनेको हुनुपर्छ । उकालीमा पनि हजुर मोटर जाँदो रहेछ । ड्राइभर दाइलाई सलाम छ हजुर जाऊँ जाऊँ रेलैमा । नेपालको पहाडी क्षेत्रमा गाडी चलाउन कठिन छ । ज्यानकै बाजी राखेर कैयौँ यात्रु बोक्ने ड्राइभरको भूमिका उच्च लाग्यो । सम्मान जागेर आयो । ड्राइभर पेसा न सम्मान छ, न तक्मा छ । न त राज्यको कुनै व्यवस्थापन छ । निद्रा नै हराम गर्छन् रात्रि बसहरूका चालकहरू । हामीलाई एक दिनको यात्रा त कति गाह्रो हुन्छ ।
यी सधैँ गाडी चलाउनेलाई कति गाह्रो हुन्छ होला ? लामो दूरीका चालकहरू त कैयौँ घण्टा निरन्तर गाडी चलाउँछन् । हजारौँ यात्रुको प्राण बचाएर सफर गरिरहेका हुन्छन् । मेरो मनमा खुल्दुली चल्यो । बस चालकलाई भनेँ, ‘गुरुजी, एक ड्राइभरको योगदान पाइलटको भन्दा कम छैन । ड्राइभरले स्ट्रेरिङ घुमाउँदै भनेँ, ‘के गर्नु हजुर । पढ्ने बेलामा गुच्चा खेलियो । गाडी त चलाउनै पर्यो । परिवार पाल्नै प¥यो । उकालो, ओरालो, घुमाउरो, भिरपाखा हुँदै बस आफ्नै गतिमा थियो । निक्कै संवेदनशील यात्रा जारी थियो । बसभरिका यात्रुको प्राण लिएर हिँडेका ड्राइभर निकै सचेत थिए । मेरा आँखा लागेको मात्र के थियो । भुसुक्कै निदाएछु । सपना देखेछु ।
एकान्त जङगलभित्र आफैँ हराइरहेको रहेछु । बाटो खोज्दा खोज्दै झल्यास्स ब्युँझिएँ । यात्रामै रहेछु । अचम्म लाग्यो के सपना देखेँ होला । यो यात्रामा पनि के सपना देखेको होला ? साँच्चि नै म हराउने त होइन । मनमा त्रास उब्जियो । परदेश जाँदैछु । कतै उतै विलीन हुने हो कि ? अनेकौँ शङ्का उपशङ्का उब्जियो । व्यर्थ मनमा सुनामी आए जस्तो भयो । उकालो, ओरालो, भिरालो अनेकौँ मोड हँुदै थानकोट पुगियो । बस रोकियो । गाडीहरू लाइनबद्ध थिए । लामो जाम थियो ।
चेक पोस्टमा चेकिङ हुँदै थियो । चिसो बतासले स्पर्श गर्यो । भ्यालीभित्रको आभास दिलायो मौसमले । बाक्ला बस्तीहरू देखिए । आँगनै मासेर बनाइएका घरहरू देखिए । हामी बसेको गाडीको पनि चेकिङ भयो । गाडीहरूको लाइनमा बस सुस्त गतिमा अगाडि बढ्यो । काठमाडौँले स्वागत गर्यो । म राजधानीमा प्रवेश गरेँ ।
Design : Aarush Creation
कल्पना खरेल । उपन्यासकार