सूचनाको शक्ति - The Power Of Information

        

भोकमरीबाट केन्यामा २०१ जनाको मृत्यु, जंगलमा भेटिए शव

केन्याको शाकाहोला जंगलमा भोकमरीका कारण मृत्यु हुनेको संख्या २०१ पुगेको छ । एक क्षेत्रीय सरकारी अधिकारीका अनुसार थप २२ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २०१ पुगेको हो ।

‘हाम्रो फोरेन्सिक टोलीले थप २२ वटा शव निकाल्न सफल भयो, तर हामीले कुनै पनि उद्धार रिपोर्ट गरेका छैनौं,’ क्षेत्रीय आयुक्त रोडाह ओन्यान्चाले शनिबार पत्रकारहरूलाई भने ।

यस हप्ताभर अधिकारीहरूले अवशेषहरूको खोजीमा जंगलमा छरिएका चिहानहरू खन्ने र बाँचेकाहरूका लागि क्षेत्रको खोजी गरिरहेका छन् । सयौं मानिसहरू अझै बेपत्ता भएका कारण खोजी गरिएको बताइएको छ ।

गुड न्युज इन्टरनेसनल चर्चका नेता पाउल म्याकेन्जीले आफ्ना अनुयायीहरूलाई आफ्ना छोराछोरी र आफैलाई भोकै मर्ने आदेश दिएका थिए । ताकि उनीहरू संसारको अन्त्य हुनुअघि स्वर्गमा जान सकून्, जुन उनले अप्रिल १५ मा हुने भविष्यवाणी गरेका थिए ।

ट्याक्सी चालकबाट प्रचारक बनेका उनलाई केन्याको अदालतले बुधबार जमानत अस्वीकार गरेको छ । शुक्रबार एउटै चिहानमा भेटिएका १२ बालबालिकासहित २९ जनाको शव फेला परेको थियो ।

केन्याका राष्ट्रपति विलियम रुटोले १०० भन्दा बढी मानिसहरूको मृत्युको बारेमा छानबिन आयोग नियुक्त गरेका छन् । छानबिन आयोगले मृत्युमा प्रशासनिक वा गुप्तचर गल्तीले योगदान पुर्यायो कि भनेर जाँच गर्नेछ ।

स्रोत : अल जजिरा
प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार ०६:२९