सूचनाको शक्ति - The Power Of Information

        

अनियमितताको विरोध गर्दै एक युवा आठ घण्टादेखि हाइटेन्सन पोलमा

मोरङको बुढीगंगा गाउँपालिकाका अध्यक्षले बाटो निर्माणमा गरेको अनियमितताको विरोध गर्दै एक जना युवा बिजुलीको हाइटेन्सन लाइन प्रशारण भएको पोलमा चढेका छन् । शनिबार विहानदेखि हाइटेन्सन प्रसारण लाइनमा चढेका दिनेशकुमार माझीलाई त्यहाँबाट झार्न सुरक्षाकर्मीलाई हम्मे भएको छ ।

झण्डै आठ घण्टादेखि पोलमा बसिरहेका उनलाई सुरक्षाकर्मीले निरन्तर उद्दार गर्ने प्रयास गरिरहेका छन् । तर, उनले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भएमात्र पोलबाट झर्ने बताएका छन् ।

१ लाख ३२ हजार भोल्ट विद्युत् प्रसारण भइरहेको पोलमा मानिस चढेको भए पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए ।

‘हामीमाथि चढेर उनलाई झार्न सक्छौँ तर उद्धारका लागि माथि चढ्दा उनी हाम्फाल्ने खतरा छ,’ उनले भने, ‘त्यसैले उद्धार गर्न कठिनाइ भएको छ ।’ गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएकाले उनको माग पुरा गर्न नसकिएको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १८:०५