सूचनाको शक्ति - The Power Of Information

        

नक्कली शरणार्थीको फाइल अगाडि बढाउन नमान्दा दुर्गममा सरुवा !

नक्कली शरणार्थी खडा गर्ने फाइल अगाडि बढाउन नमानेको झोकमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले एक नायब सुब्बालाई दुर्गममा सरुवा गरिदिएको खुलेको छ ।

भुटानी शरणार्थी सम्बन्धी समितिअन्तर्गत झापामा रहेको एक इकाइ प्रमुख रहेका ती कर्मचारीलाई खाँणले सरुवा गरी ताप्लेजुङ पठाइदिएको गृह स्रोतले जानकारी दियो । त्यो समितिमा विभिन्न दातृ निकायका कर्मचारी र गृह मन्त्रालयले खटाएका कर्मचारीले संयुक्तरूपमा शरणार्थी ‘भेरिफिकेसन’को काम गर्दै आएका थिए ।

‘तपाईंले सहयोग गर्नुभएन भन्दै ती कर्मचारीलाई (खाँणले) सरुवा गरिदिनुभएको थियो,’ गृह स्रोतले भन्यो । नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने भनी चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा खाँण बुधवार पक्राउ परेका छन् । उनलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ ।

अदालतले दिएको म्याद आज (शुक्रवार) सकिए पनि भोलि शनिवार परेकाले खाँण हिरासतमै रहनेछन् । उनलाई म्याद थपका लागि आइतवार पुनः जिल्ला अदालत काठमाडौंमा लगिनेछ । खाँणसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाँणले गिरोहका सदस्यसँग मनी ट्रान्सफरमार्फत पैसा बुझेको प्रमाण फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

गिरोहका सदस्यहरूसँगको ‘कल डिटेल्स’, च्याट आदिलाई पनि प्रमाणका रूपमा लिइएको छ । यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् । खाँणका अलावा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे र सन्दीप रायमाझी लगायत प्रहरी हिरासतमा छन् ।

अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । प्रहरीका अनुसार १५४ जना पीडित सम्पर्कमा आएका छन् । हालसम्म पीडितले दिएको विवरण हेर्दा २३ करोड बराबर बिगो कायम हुन सक्ने देखिएको छ । अपराध अनुसन्धान कार्यालयका अनुसार यस प्रकरणमा २०७९ जेठ १८ गते रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले पहिलो उजुरी दिएका थिए । अन्य जाहेरीपछि मात्र थपिएका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १६:४२