सूचनाको शक्ति - The Power Of Information

        

फेरि बढ्न थाले डढेलोका घटना

बाँकेसहित देशका १ सय ५० ठाउँमा डढेलो, अझै फैलिने सम्भावना

सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो

आगलागी र डढेलोका घटना फेरि बढ्न थालेका छन् ।

अहिले देशका १५० ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।

सबैभन्दा धेरै बाँके र सुर्खेतमा डढेलो लागेको छ । बाँकेका ३३ र सुर्खेतका २५ ठाउँमा डढेलो लागिरहेको छ ।

यस्तै, कैलालीका ९, सिन्धुली र बर्दियाका ८, कञ्चनपुर र सल्यानका ६, खोटाङ, दाङ र अर्घाखाँचीका ५ ठाउँ, दोलखाका ४, धनकुटा, अछाम, नुवाकोट, कपिलवस्तु, ओखलढुंगा, रामेछाप र स्याङ्जाका ३/३ ठाउँमा डढेलो  लागेको छ ।

यसैगरी, मकवानपुर, पर्सा, प्युठान र तेह्रथुमका २/२ ठाउँ तथा तनहुँ, सुनसरी, पाँचथर, काठमाण्डौ, काभ्रे, गुल्मी र भोजपुरका एक/एक ठाउँमा डढेलो लागिरहेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले देखाएको छ ।

सुक्खापन बढेकाले आगलागी र डढेलो अझै फैलिने सम्भावना छ । आगलागी र डढेलाका कारण मानवीय क्षतिसमेत हुन थालेको छ । अर्घाखाँचीमा गएको मङ्गलवार  आगलागी हुँदा एकै गाउँका चार जना र दैलेखमा अस्ति वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको छ भने घाइते सात जनाको उपचार भइरहेको छ ।

केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । गएको १६ गतेदेखि झण्डै एक हप्ता पानी पर्दा डढेलोका घटना कम भएको थियो । तर त्यसपछि भने घाम चर्किन थालेको छ । गर्मी बढेको छ ।

यसले आगलागी र डढेलोका घटना बढेका छन् । धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले  सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।

यस्तै, सुरक्षाको उपायविना डढेलो लागेको ठाउँमा नजान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माको सुझाव छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार ०७:५८