सूचनाको शक्ति - The Power Of Information

        

कसले किनिदियो चार करोडको घर ?

भुटानी शरणार्थी सम्बन्धी ठगी मुद्दामा फरार रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीको सम्पत्ति अस्वभाविक देखिएको छ ।

पछिल्लो पाँच वर्षमा उनले करोडौंको सम्पत्ति जोडेको निकटस्थहरू बताउँछन् । चार वर्षअघि मात्र उनले खुमलटारमा चार करोड रुपैयाँ आलिसान घर किनेका थिए । त्यो घर बिचौलिया समूहले नै किनिदिएको स्रोत बताउँछ ।

जतिबेला भुटानी शरणार्थी प्रकरणमा उनले करोडौं लिएका थिए त्यही आसपास घर किन्नुले ठगीको कनेसक्न सो घरसँग पनि जोडिने देखिन्छ । भुटानी शरणार्थीको नाममा पैसा उठाउने गिरोहसँग छोरा सन्दीपको बैंक खातामा उनले पटक पटक पैसा बुझेका थिए ।

त्यसवापत टोपबहादुरले गृह मन्त्रालयमा गएर सहजीकरण समेत गरिदिएका थिए । उनका छोरा सन्दीप ६ दिनदेखि हिरासतमा छन् भने बाबु भने फरार छन् । काठमाडौंको सो घर मात्र होइन कपिलवस्तुमा पनि उनको अस्वभाविक सम्पत्ति छ ।

छोरा सन्दीपले केही वर्षअघि मात्र करोडौं रुपैयाँमा जग्गा किनेका छन् । ‘सन्दीपको स्रोत खुल्ने कुनै व्यापार छैन,’ उनी निकट एक व्यक्ति भन्छन्, ‘तर, करोडौंको जग्गा कसरी खरिद गरे अचम्मको विषय छ ।’

अहिले ठगी मुद्दासँगै रायमाझीको सम्पत्तिको अनुसन्धान गर्ने हो भनेर उनको करोडौंको सम्पत्ति स्रोत नखुलेर जफत हुने अवस्था छ । तर, ठगी मुद्दाबाटै जोगाउन दौडधुप चलिरहेको छ । यही सम्पत्तिको लतले टोपबहादुर माओवादी छाडेर एमालेमा गएका थिए ।

त्यसवापत केपी ओलीको सरकारमा उनले उपप्रधानमन्त्रीसहित उर्जामन्त्री पाए । यसरी शरणार्थी बनाएर पठाउने नाममा त ठगी गर्नेले उर्जा मन्त्री हुँदा कति भ्रष्टाचार गरे भन्ने अनुमान गर्न सकिन्छ ।

त्यसो त शान्ति प्रक्रियामा आएलगत्तै उनी बिचौलियाको संगतमा थिए । हाल पक्राउ परेका सानु भण्डारी र सन्देश शर्मासँग उनको हिमचिम २०६४ सालदेखि नै थियो । उनीहरुमार्फत विगतमा पनि धेरै काम सेटिङमा गरेका थिए ।

तर, यसपटक पैसा पचाउन सकेनन् । माओवादीमा हुँदा पनि उनी पटक पटक मन्त्री बनेका थिए । १० वर्ष जनयुद्ध लडेका रायमाझी पछिल्लो १७ वर्षमा धनयुद्धमा लागेको उनको सम्पत्ति विवरणबाट प्रष्ट हुन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ०६:५४