इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेशनको भिडन्त रोचक बन्दै गएको छ । लिगमा तीन चरणका खेलहरु मात्रै बाँकी रहँदा लेष्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्पटन तालिकाको पुछारमा रहेका छन् ।
सोमबार राति भएको खेलमा ब्राइटनलाई ५–१ ले पराजित गर्दै एभर्टन भने रेलिगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानमा उक्लिएको छ ।
ब्राइटनको मैदानमा भएको खेलमा हात पारेको प्रभावशाली जितसँगै एभर्टनका प्रशिक्षक सिन डाइचमाथिको दबाब केही मत्थर भएको छ ।
प्रिमियर लिगकै अन्य खेलहरुमा सोमबार राति फुल्हमले लेष्टर सिटीलाई ५–३ ले हराउँदा नटिङ्घम फरेष्टले साउथह्याम्पटनमाथि ४–३ को जित निकालेको छ ।
सोमबार रातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा ३४ खेलबाट ८२ अंक जोडेको म्यानचेस्टर सिटी शीर्षस्थानमा छ । एक खेल बढी खेलेको आर्सनल ८१ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको न्युकासल युनाइटेडको ६५ तथा चौथो स्थानको म्यान्चेस्टर युनाइटेडको ६३ अंक छ ।
पुछारमा रहेको साउथह्याम्पटनको २४ अंक छ भने लिड्स युनाइटेड र लेष्टर सिटीको ३०÷३० अंक छ । एभर्टनको ३२ अंक भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ