सूचनाको शक्ति - The Power Of Information

        

पञ्जाबलाई हराउँदै कोलकाताले कायम राख्यो ‘प्लेअफ’ सम्भावना

इन्डियन प्रिमियर लिग(आइपिएल)अन्तर्गत सोमबार सम्पन्न खेलमा कोलकाता नाइटराइडर्सले अन्तिम बलमा चौका प्रहार गर्दै पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ।

रोमाञ्चक जितसँगै कोलकाता पाँचौँ स्थानमा उक्लिएको छ। जितसँगै कोलकाताको प्लेअफ सम्भावना कायम रहँदा पञ्जाबमाथि भने चुनौती बढेको छ।

कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। उसका लागि कप्तान शिखर धवनले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा जितेश शर्माले २१ रन बनाएका थिए।

त्यस्तै, ऋषी धवनले १९ रन बनाउँदा शाहरुख खानले २१ रन बनाएका थिए। हरप्रित ब्ररले १७ रन बनाए। कोलकाताका लागि बरुण चक्रवर्तीले ३ विकेट लिँदा हर्षित रानाले २ विकेट लिएका थिए।

१ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले अन्तिम बलमा लक्ष्य पूरा गरेको थियो। उसका लागि कप्तान नितिश रानाले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा आन्द्रे रसेलले ४२ रन बनाएका थिए।

त्यस्तै, ज्यासन रोयले ३८ रन बनाएका थिए भने रिन्कु सिंह २१ रनमा नटआउट रहे। उसका लागि रमनुल्लाहा गुर्वाजले १५ रन बनाएका थिए। जितपछि कोलकाताको पनि लिगमा १० अङ्क भएको छ। लिगमा राजस्थान, बेंगलोर, पञ्जाब र मुम्बईको समान १० अङ्क रहेको छ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ०७:३४