सूचनाको शक्ति - The Power Of Information

        

भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको बयान आजबाट

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुलाई बयानका लागि मंगलबारबाट बोलाएको छ ।

बयानका लागि काठमाडौं जिल्ला प्रहरी परिसरले थप जनशक्तिसहितको छुट्टै टोली बनाएको छ ।

पक्राउ परेका आरोपीहरुले बयानका क्रममा नाम लिएका उच्च तहका व्यक्तिहरुको बयान लिने तयारी प्रहरीले गरेको हो ।

पक्राउ परेका विचौलियाहरुले कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मन्जु खाँड र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवासम्मको नाम लिएको सार्वजनिक भएको छ ।

विचौलियाहरुले बयानका क्रममा आफ्नो बयान जस्ताको तस्तै राख्न र उच्च तहका ब्यक्तिहरुलाई पनि अनुसन्धान नगरे आत्मदाह गर्नेसम्मको धम्की दिएपछी प्रहरीले राजनीतिक ब्यक्तिहरुलाई बयानका लागि बोलाएको हो ।

पक्राउ पूर्जीका लागि पर्याप्त प्रमाण नपुगेको भन्दै बयानबाट प्रक्रिया सुरू गर्ने प्रहरीले जनाएको छ । मन्जु र आरजुले समेत रकम बुझेको अडियो सार्वजनिक भएपछि प्रहरीले यो प्रकरणमा थप प्रमाण संकलनको काम पनि सँगसँगै गरिरहेको छ ।

यही प्रकरणका कारण प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण स्थगित भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ०७:२८