सूचनाको शक्ति - The Power Of Information

        

संसदमा ‘अश्लील’ आक्रोशः बाहिर निषेधित क्षेत्र, भित्र माननीय नै अर्धनग्न

प्रतिनिधि सभा भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर आसपासको क्षेत्र निषेधित क्षेत्र हो । निषेधित क्षेत्रमा कुनै पनि विरोधका गतिविधि गर्न पाइँदैन । यति मात्रै होइन निषेधित क्षेत्रमा भीडभाड गर्नसमेत निषेध छ ।

चारैतर्फ निषेधित क्षेत्रको बीचमा रहेको प्रतिनिधि सभा भवनभित्रै सोमबार प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले विरोधका नाममा अश्लील आक्रोश पोखे ।

उनले सभामुख देवराज घिमिरेले संसद् बैठकमा भ्रष्टाचारका विषय बोल्न खोज्दा समय नदिएको भन्दै कम्मरमाथि लगाएको सर्ट र सेन्डो खोल्दै विरोध गरेका हुन् । उनको विरोधको शैलीलाई ‘अश्लील आक्रोश’ भन्दै सर्वत्र आलोचना भइरहेको छ भने सिंह विवादमा तानिएका छन् । सिंह स्वतन्त्र सांसद हुन् ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा संसद् बैठकको छलफलमा भाग लिने सदस्यले पालन गर्नुपर्ने नियमबारे उल्लेख छ । सो नियमको ‘धज्जी उडाउँदै जनताबाट निर्वाचित सांसदले संसद् भवनभित्रै बैठक चलिरहँदा कम्मरमाथिको कपडा खोलेको’ आरोप छ ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ०७:१६