सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा धेरै रोचक कुराहरू भए । सांसद अमरेश कुमार सिंहले कपडा खोलेर विरोध जनाए भने सांसदहरूले फिल्म र ट्रेलरका कुरा गरे ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले भने निकै गहन कुरा सदनमा राखे । उनले अर्थमन्त्रीले हिजोका कतिपय कुरालाई सिधै गलत भन्दै त्यो सुधार्न सल्लाह दिए । उनले आफुले लेखेको नेपाली काँग्रेसको चुनावी घोषणापत्र पढ्न समेत अर्थमन्त्रीलाई सुझाव दिए । यसरी अर्थमन्त्रीलाई नै अर्थशास्त्र पढेका वाग्लेले गरेको सम्बोधनको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
अर्थमन्त्रीले आइतबार संसद्मा पेश गरेको सरकारको बजेट नीति तथा प्राथमिकतामा धेरै पर्नुपर्ने विषयहरू परेका छन् । केही छुटाउनै नहुने विषयहरू छुटेका छन् । अर्थमन्त्री भन्नुहुन्छ आर्थिक वृद्धि गराइदिन्छु, निजी क्षेत्रको मनोबल उकास्छु तर पनि आज किन खल्लो छ माहौल ?
किन हामी उत्साहहीन कर्म काण्डमा सामेल भइरहे झैँ लागिरहेको छ ? मलाई लाग्छ यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति योजना बजेट र शासकीय प्रक्रिया नै सच्चिने, सुधार्ने, सपार्ने गुन्जाइस हामीले भेटिरहेका छैनौँ । सेन्स अफ अर्जेंसी मैले यहाँ देखिरहेको छैन ।
आज मुलुक भित्र र बाहिर आज ठूला ठूला रचनात्मक फड्कोका साक्षी हामी छौँ । जनासांखिक बनोटले हाम्रा सारा उन्नयनका सम्भावनाहरूमा ठूलो दबाब पारेको छ । दसौँ लाखको हाराहारीमा विदेश पलायन भएका छौँ । ३२/३५ जिल्लामा अभूतपूर्व निर्जनिकरण भइरहेको छ । बसाइ सराइ र सहरीकरणका मुद्दाले दिगो विकाश र समग्र सर्वंगिन विकाशका मुद्दाहरूलाई अत्यन्तै पेचिलो बनाइरहेको छ ।
छोटो समयमा ठूला ठुला प्रगति गर्नु छ । प्रविधिमा यत्रो छलाङ छ । डिजिटल इकोनोमीका कुरा त गरिएको छ तर एउटा वेब साइटमा भएको फारम डाउनलोड गर्नुलाई नै प्रविधि मैत्री भन्ने गरिएको छ । आर्थिफिसियल इन्तालिजेंस, अटोमेशन, चौथो औद्योगिक क्रान्तिका कुराहरू ले समाज र हाम्रो अर्थतन्त्रमा उथल पुथल भइरहेको छ ।
जलवायु परिवर्तनका कुराहरू छन् र त्यो सँगसँगै हिमालय र हिन्दु कुश क्षेत्रमा त्यो भन्दा पनि थप पेचिलो विषय छ । एलिभेसन डिपेन्डेन्ट वार्मिंग जसले दुनियाँ दुई डिग्री सेन्टिग्रेडले तात्यो भने पनि हाम्रा हिमालहरूमा थप शून्य दशमलव ६ डिग्रीले अरू बढोत्तरी हुने जोखिम छ ।
विश्वका उत्पादन मोडेलहरू, आपूर्ति शृङ्खलाहरू , ग्लोबल भ्यालु चेनका यी मोडलहरूले लगानी, व्यापार, विनिमय र रोजगारीका स्वरूपमा भारी परिवर्तनहरू ल्याइरहेको छ । भारत, चीन र पूर्वी एसियाको पुनरुदयले अवसर र चुनौती सँगसँगै लिएर आएको छ ।
विकासका लागि वित्तको परिदृश्य तलमाथि परिसकेको छ । उथल पुथल भएको छ । अनुदानहरू सुकिरहेका छन् । सहुलियतपूर्ण ऋण अब कसिलो र सशर्त हुँदै गएको छ । र, सस्तो पुँजी अब दुर्लभ भइरहेको छ । त्यो छोटो समयमा ठूलो छलाङ मार्ने अभूतपूर्व पुँजी निर्माण गर्ने अवसरहरू साँगुरिँदै गएका छन् ।
यस्तो बेलामा यस खालको प्रथामिकीकारण र सेन्स अफ अर्जेंसी मलाई लाग्छ सरकारले आफ्नो सिद्धान्त र प्राथमिकतामा पार्नुपर्छ । अझै पनि समय छ व नीति तथा कार्यक्रममा यी कुराहरू झल्कियुन् भन्ने मेरो आग्रह छ ।
अहिले ल्याइएका ६ वटा प्राथमिकतामा पनि मेरो टिप्पणी छ । आर्थिक वृद्धि र स्थायित्वका कुराहरू जायज नै हुन् । तर, यस्तो समयमा हामीले आर्थिक वृद्धि र स्थायित्वका कुराहरू गरिरहेका छौँ जति बेला अर्थतन्त्रले ले गुमाएको छ । आठ आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्रक्षेपण भएको देशमा आज दुई प्रतिशत भन्दा काममा हामी रुमल्लिएका छौँ ।
अर्थमन्त्रीका दाजुले २०७१ सालमा पनि यतै कुरा ल्याउनु भएको थियो । अर्थतन्त्र त्यस बेला लयमा थियो । अर्थतन्त्र लयमा हुँदा स्थिरताका कुरा गर्न सुहाउँछ । सङ्कटमा परेको अर्थतन्त्र, भड्खालोमा परेको अर्थतन्त्रको कुरा गर्दा यो स्थायित्वको कुरा गर्नु न्यायसङ्गत होइन ।
आज चार/चार वटा वित्तीय खाडलहरू छन् । जम्मा ७३३ अर्बको राजश्व उठेको छ र खर्च भएको छ १०२६ अर्ब । त्यत्रो खाडल कसरी पुरा गर्ने ? कर्जा, लगानी र आर्थिक वृद्धि बिचको त्यत्रो भ्वाङ्ग छ । कर्जा नियमित रुपमा २०/२२ प्रतिशतले वृद्धि भइरहेको छ । अर्थतन्त्रको वृद्धि र गतिसँग त्यसको समन्जयता छैन ।
हाम्रो दुर्लभ पुँजी कहाँ चुहिरहेको छ ? बस्तु र सेवाको आयात र निर्यात बिचको खाडल जग जाहेर नै छ । यी यावत् कुरामा हामीले अलिक फरक ढङ्गले त्यो सेन्स अफ अर्जेंसी र प्राथमिकतामा अलिकति पुनर् मूल्याङ्कन गर्नुहोस् भन्ने मेरो आग्रह छ ।
हामी परिमाणात्मक विकासबाट अब गुणात्मक विकासमा गएका छौँ । ०४८ पछि र ५० को दशकमा हामीले स्कुलका भवन माग गर्यौँ, खानेपानी माग गर्यौँ, धुलाम्य बाटो नै सही त्यो माग गर्यौँ । तर, अहिले स्कुल छ तर त्यहाँ पढाई हुँदैन । आजको चिन्ता स्कुल निर्माणको होइन बरु सिकाइको सङ्कटलाई कसरी सम्बोधन गर्ने भन्ने हो ।
स्वास्थ्य चौकी छ तर दक्ष सेवा छैन । कुपोषणको महामारी नै छ । सिङ्गो पुस्ताको एक तिहाइ जनसङ्ख्या कुपोषणबाट प्रताडित छन् । तर, यी चुनौतीको सम्बोधन यो दस्ताबेजमा छैन ।
फिस्कल स्पेस (वित्तीय क्षेत्र) अलिक टाइट भएकाले मौद्रिक उपकरणबाट मात्र हामी अगाडी जान्छौँ भनेर अर्थमन्त्रीले भन्नु भएको छ । त्यो गलत हो । फिस्कल स्पेस खोज्न सक्ने हो भने, सृजनशील हुन सक्ने हो भने व्यापक स्पेस अझै पनि छ । यसका लागि तपाइले यहि जलवायु परिवर्तनको मुद्दा, यहि दिगो विकाशको मुद्दा बाटै पनि अगाडी बढ्न सक्नुहुन्छ ।
जम्मा ३ लाख १५ हजार जनसङ्ख्या भएको बर्बोड्सका नेताले अहिले संसारकै वित्तीय आर्किटेक्चर परिवर्तन र उथलपुथल गर्नु भएको छ । ग्रिन फाइनान्सको दृष्टिबाट र हामी जस्ता गरिब देशका मानिसले पनि कसरी क्लाइमेट फाइनान्सका कुराहरू गर्न सक्छौँ भन्ने हेर्नु पर्छ । राम्रो योजना पेश गर्ने हो भने हामी सजिलै १०/२० करोड डलर अनुदान त्यहाँबाट ल्याउन सक्छौँ ।
स्थानीय पालिकहरु भ्रष्ट्राचारका अखडा बनेको अख्तियारको प्रतिवेदनले देखाएको छ । त्यसमा कढाई गर्नुपर्छ । निजी क्षेत्रको मनोबलको कुरा गरिएको छ त्यो स्वागतयोग्य छ ।
नेपाली काँग्रेसको घोषणापत्र पढ्नु भएको नै होला । मैले पनि पढेको छु । धेर बहुत मैले पनि लेखिदिएकै हो । त्यहाँ आर्थिक सुधारका कुराहरू गरिएका छन् । २४ देखी ४८ वटा ऐनहरूको खारेजी, संशोधन बारे कुरा गरिएका छन् । आफ्नै घोषणा पत्र पढेर त्यसलाई कार्यान्वयनमा उतार्नु होला ।
सत्यपाटी संवाददाता । काठमाडौँ