सूचनाको शक्ति - The Power Of Information

        

मुगु हिमपहिरोमा पुरिएकाहरूको उद्धार आजदेखि

कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरूको खोज उद्धार आजदेखि गर्ने भएको छ ।

हिजो ढिलो भएकाले प्रदेश सरकारले आजबिहान हेलिकोप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धार टोली घटनास्थलमा पुर्याउने तयारी गरेको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले घटनाका बारेमा तत्काल जानकारी हुन नसकेकाले खोज उद्धार कार्यमा ढिलाइ भएको बताए ।

“हामीले मुगु प्रशासनबाट त्यहाँको यथार्थ विवरण मागी आइतबार सुरक्षा समितिको बैठक बसेर हेलिकोप्टर तयारी अवस्थामा राखेका छौँ”, उनले भने, “सोमबार सुर्खेतदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत औजारसहितको उद्धार टोली सुर्खेतबाट मुगु गमगढी र त्यसपछि घटनास्थलतर्फ जानेछ ।” हेलिकोप्टर आइतबार बेलुकी पठाउँदा राति हुने र उद्धार कार्यमा असहज बन्ने भएकाले सुर्खेतमै अवतरण गरिएको मन्त्री जिसीले जनाए ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले घटना वैशाख २२ गते दिउँसो २ बजे भए पनि मृतकसँग गएका प्रत्यक्षदर्शीहरूले शनिबार साँझ मात्र जानकारी दिएकाले उद्धार कार्यका लागि सूचना दिन ढिलाइ भएको बताए ।

प्रत्यक्षदर्शीहरूको भनाइ उदृत गर्दै प्रजिअ थापाले उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीको हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएको बताए ।

उनका अनुसार जेठ ४ गते यार्सागुम्बा संकलनका लागि त्यहाँको पालिकाले खुला गर्ने भनिए पनि पातारासीबाट १४ र मुगु छायाँनाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेको थियो ।

शव हिउँमै रहेको बताइएको छ । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ०८:००