सूचनाको शक्ति - The Power Of Information

        

संसदमा नक्कली भुटानी शरणार्थीको चर्चा

संघीय संसद प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो दिन संसदमा नक्कली भुटानी शरणार्थी काण्डले चर्चा पाएको छ । बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच आरोपप्रथ्यारोप समेत चलेको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले एमाले भ्रष्टाचार र अनियमिततालाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको दावी गर्नुभयो ।

गिरीले वाइडबडी,बासबारी जग्गा घोटाला,मातातीर्थ जग्गा,लडाकु शिविर,बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुको प्रवेश लगायतको विषयमा पनि छानविन गर्न प्रधानमन्त्रीलाई चुनौति दिनुभयो ।

एमाले सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको सत्ता पक्षीय व्यक्तिहरुलाई उन्मुक्ति दिने दुषित मनशाय देखिएको आरोप लगाउनुभयो । एमालेका अर्का सांसद सूर्य थापाले क्यान्टनमेन्टको अर्बौँ भ्रष्टाचार र कमानसिंह लामा ठगि प्रकरणको छानविन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्ष दलहरुलाई नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गर्नुभयो । उहाँले आरोपित एमालेका सचिव टोपबहादुर रायमाझिलाई कानूनी दायरामा बुझाउन समेत चुनौती दिनुभयो ।

नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालिन सरकारले नै अपराधिक काम गरेको आरोप लगाउँदै तत्कालिन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री चोखो हुन नसक्ने बताउनु भयो । उहाँले सो प्रकरणमा कर्मचारी थुनामा जाने तर राजनीतिक व्यक्ति उम्किने खेल हुनसक्ने भन्दै राजनीतिक व्यक्तिलाई उम्काने कुुरा संसद र जनताले स्वीकार नगर्ने चेतावनी दिनुभयो ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफ्नो मान्छे दोषि देखिने भएपछि बचाउनका लागि प्रधानमन्त्री समक्ष म्याउम्याउ गरिएको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले थुनामा रहेका आरोपितहरुलाई सरकारी वकिलका अगाडी बयान फेर्न दबाब दिइएको भन्दै थुनामा रहेका दुई जनालाई संसदमा ल्याएर बयान गराउनुपर्ने माग राख्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विगत ३३ वर्षदेखिको भ्रष्टाचार आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनु भयो । बैठकको शुरुमै सांसदहरुले आफू बोल्न पाउनुपर्ने भन्दै हात उठाएपछि बैठक एकछिन प्रभावित भएको थियो । प्रतिनिधि सभाको अर्को बैठक २०८० बैशाख २५ गते सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार १९:४३