सूचनाको शक्ति - The Power Of Information

        

दलहरुकै बीच हुन थाल्यो तुलना

भ्रष्ट र विवादित सांसदलाई रास्वपामा कारवाही, एमालेमा संरक्षण

सांसद विवादमा परेपछि एमालेले रास्वपाको लाइन त पछ्याएन नै, अध्यक्ष केपी ओली बचाउका लागि दौडधुपमै उत्रिएका छन् ।

उपनिर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार नराम्ररी पराजित भएपछि कार्यकर्ताको सामाजिक सञ्जालमा प्रश्न थियो, सक्किने कि सच्चिने ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले पाएको लोभलाग्दो लोकप्रियता र कांग्रेस–एमालेको पराजय ठूला दलका नेता कार्यकर्ताले बिर्सिसके ।

अहिले चर्चा नक्कली शरणार्थी प्रकरणमा को नेता जोडिए ? कसले कसलाई जोगाउँदै छ ? भन्नेमै छ । ठूला दलमाथि प्रश्न उठाएर धावा बोलेको रास्वपा विवाद रहित छैन । तर, उसका केही कदम यस्ता छन् जसलाई ठूला दलले अनुशरण नगरे यात्रा चाहा सकिनेतिरकै देखिन्छ । रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग गरेको २ करोड रुपैयाँको डिलबारे अडियो चैत २६ मा सार्वजनिक भयो ।

रास्वपाले तत्कालै छानबिन गरेर फास्ट ट्रयाकमै कारवाही ग¥यो, श्रेष्ठको सांसद पद नै गुम्यो । रास्वपाका सभापति रवि लामिछानेले तत्काल प्रतिवद्धता जनाएका थिए, दोषी देखिए ७० घण्टामा कारवाही । पार्टीले चैत २६ मै निलम्बन गरिसकेको थियो ढाकाकुमारलाई । ढाकाकुमार प्रकरणलाई रास्वपाले उप निर्वाचनमा लोकप्रिय मतमै कनभर्ट गर्यो । पार्टी र सांसद पदबाट हटाउने निर्णयलाई धेरैले स्वागत नै गरे ।

रास्वपाका सांसद विवादमा परेजस्तै अहिले एमालेका सांसद तथा पार्टी सचिव टोपबहादुर रायमाझी पनि प्रहरीको खोजी सूचीमा छन् । वैशाख २० मा प्रहरीले पक्राउ पूर्जी जारी गरे लगतै उनी गृहजिल्ला अर्घाखाँचीबाटै फरार छन् । सांसद विवादमा परेपछि एमालेले रास्वपाको लाइन त पछ्याएन नै, अध्यक्ष केपी ओली बचाउका लागि दौडधुपमै उत्रिएका छन् । वैशाख २१ मै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर टोपबहादुर प्रकरणबारे चासो राखे ।

‘तानिएको हो कि तनाइएको हो हामी अध्ययन गर्दैछौं । निर्दोष पर्न हुँदैन दोषी उम्कनु हुँदैन । निर्दोष फसाउन खोजिए हामी सहँदैनौं,’ ओलीले भेटपछि रायमाझीको बचाउमा भनेका थिए, ‘एउटा सांसद पटकपटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षडयन्त्र पूर्वक ढंगले बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने ?’ ओलीले वैशाख २३ मै फेरि प्रचण्डलाई भेटे रायमाझीबारे कुरा गर्न ।

प्रचण्डले ओलीले रायमाझी प्रकरणबारे बारम्बार चासो राखेको भए पनि आफूसँगको वार्तामा बचाउ नगरेको दाबी गरे । ‘अस्ति पनि यस विषयमा उहाँको कन्सर्न थियो । आज पनि कन्सर्न उहाँले राख्नुभयो । बचाउ भनेर त उहाँले भन्न सक्ने कुरा भए न नि ! प्रधानमन्त्रीसँग कुरा गर्दाखेरी,’ प्रचण्डको भनाइ छ । प्रचण्डले उक्त भेट लगतै सहभागी कार्यक्रममा पनि नक्कली भुटानी प्रकरणको अहिले ट्रेलर मात्रै देखिएको बताएका थिए ।

आफूलाई धाकधम्की आए पनि आफू पछि नहट्ने भनाइ थियो प्रचण्डको । ‘पक्कै पनि ठूलठूला घेराबन्दी होलान् । दबावहरु आउलान् । धम्कीहरु होलान् । धेरैचिज हुन सक्छन् यो बिचमा । जतिसुकै ठुला धम्की र घेराबन्दीको सामना गरिने छ,’ प्रचण्डले भनेका छन् । ओलीको बारम्बारको प्रचण्डसँगको भेट र ओली तथा प्रचण्ड दुबै जनाले दिएको अभिव्यक्तिले प्रष्ट हुन्छ एमाले रायमाझीलाई बचाउने पक्षमै छ । हुन त एमालेका नेताहरुले रायमाझीबारेको अनुसन्धानमा कुनै अप्ठेरो पार्दैनौं भनेर अभिव्यक्ति नदिएका होइनन् ।

तर, ओलीले नै फसाउन खोजिएको आरोप लगाउनु र रायमाझी फरार रहनुले निष्पक्ष अनुसन्धानमा शंका पैदा गरेको छ । सांसदमाथि लागेका दुई गम्भीर आरोपमा रास्वपाले सांसदलाई तत्काल कारवाही गर्नु र एमालेले कारवाही त टाढाको कुरा पार्टी नेतृत्व नै बचाउमा लाग्नुले संकेत गर्छ रास्वपाले फेरि पनि स्थापित दलमाथि घण्टी बजाउने नै छ, अहिलेको लयलाई कायम राखे । सत्ता पक्षको बेञ्चबाट निस्किएर वैशाख २२ देखि प्रतिपक्षको वेञ्चमा रास्वपा पुगिसकेकै छ । त्यसैले पनि उसको जिम्मेवारी नै हुनेछ सरकारलाई उत्तरदायी बनाउने ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार १४:५१