नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुशासनको नारा लगाएर थाक्दैनन् । तर, व्यवहार भने ठीक उल्टो छ । उनी ‘भ्रष्टहरूको संरक्षक’ हुन् भन्ने कतै लुक्दैन । विगतमा बहुचर्चित घोटालामा संलग्न दर्शनौँलाई संरक्षण गरेका ओली यतिबेला ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा संलग्न आफ्ना नेता जोगाउन लागिपरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘खबरदार मेरो मान्छे पक्राउ गर्लास्’ भन्दै धम्क्याउन भ्याइसकेका छन् । करोडौं रकम असुल्दै नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा एमाले सचिव टोपबहादुर रायमाझीको संलग्नता घाम जस्तै छर्लङ्ग भएको छ । तर, उनै रायमाझीलाई उन्मुक्ति दिन ओली टुप्पी कसेर लागिपरेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा टोपबहादुरकोे संलग्नता रहेको प्रारम्भिक निष्कर्षसहित प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर, टोपबहादुर अझै पक्राउ परेका छैनन् । बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर ओलीले टोपबहादुरलाई पक्राउ गरे राम्रो नहुने धम्की दिए । विशेष स्रोतका अनुसार टोपबहादुरलाई बिहीबार बिहानै प्रहरीले भैरहवामा पक्राउ गरिसकेको थियो ।
तर, ओलीले प्रधानमन्त्री लगायतसँग कुरा गरेर भगाए । ओलीले संरक्षण गर्ने भएपछि टोपबहादुर मोबाइल अफ गरेर आनन्दले कतै सुतेका छन् । प्रधानमन्त्रीसँग भेटेपछि पत्रकारसँग ओलीले दिएको प्रतिक्रियाले पनि के पुष्टि हुन्छ भने, ओली खुलेरै भ्रष्टहरूको संरक्षणमा लाग्छन् ।
उनले पत्रकारसँग भने, ‘बहालवाला सांसदलाई षड्यन्त्रपूर्वक तरिकाले बाटोबाट च्याप्प समात्न पाइन्छ ? राजनीतिक प्रतिशोधका आधारमा यस्तो गर्न पाइन्नँ ।’ टोपबहादुराई अहिलेसम्म आरोप मात्र लागेको हो । प्रहरीको अनुसन्धान र अदालतको निर्णय बाँकी नै छ । यस्तो बेलामा ‘मेरो पार्टीले अनुसन्धानमा सहयोग गर्छ’ भन्नुपर्नेमा ओलीले ‘पक्राउ गरे राम्रो हुन्न’ भनेर भ्रष्टहरूको संरक्षकको रुपमा आफूलाई उभ्याएका छन् ।
ओली आज टोपबहादुरलाई जोगाउन मात्र लागिपरेका होइनन् । यसअघि पनि आफ्ना दर्जनौँ नेतालाई अर्बौँ घोटाला तथा अपराधमा जोगाएका छन् । ईश्वर पौडेल, विष्णु पौडेल, योगेश भट्टराई, पद्यमा अर्याल, भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, लेखराज भट्ट, डा. युवराज खतिवाडा, रघुवीर महासेठ, सर्वेन्द्र खनालहरूलाई जोगाइसकेका छन् ।
– भुटानी शरणार्थी काण्ड – टोपबहादुर रायमाझी
– सेक्युरिटी प्रिन्टिङ प्रेस (७० करोड) काण्ड – गोकुल बाँस्कोटा
– बालुवाटार जग्गा काण्ड – विष्णु पौडेल
– वाइडबडी जहाज काण्ड –
– यति र ओमनी काण्ड – योगेश भट्टराई
– बतास काण्ड – योगेश भट्टराई
– कोरोना कालमा घोटाला काण्ड – भानुभक्त
– झापाको चियाबगान काण्ड – पद्यमा अर्याल
– सांसद अपहरण काण्ड – सर्वेन्द्र खनाल
– सांसद अपहरण काण्ड – महेश बस्नेत
– नुन आयात काण्ड – विष्णु पौडेल
– मल खरिद काण्ड – पद्यमा अर्याल
– भन्सार छुट काण्ड – युवराज खतिवाडा
– पानी ट्याङ्की पैसा काण्ड – ईश्वर पोखरेल
– चुन उत्खनन काण्ड – लेखराज भट्ट
– यातायात सिण्डिकेट काण्ड – रघुविर महासेठ
इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्दा ओलीले सुरुबाटै विकास र समृद्धिको नारा बाँडेका थिए । नागरिकको आकांक्षा ह्वात्तै बढाउन ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारे । तर, साढे तीन वर्ष प्रधानमन्त्री बन्दा त्यसलाई साकार पार्ने आधार नै निर्माण गर्न सकेनन् । आफू निकट भ्रष्टहरूलाई जोगाउनमै व्यस्त रहे । सत्तामा हुँदा ‘भ्रष्टहरूको संरक्षक’ बनेका ओली सत्ता बाहिर रहँदा पनि भ्रष्टहरूलाई नै जोगाउन मरिहत्ते गरिरहेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं