सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहास्थित एकीकृत जाँच चौकीको निर्माण अन्तिम चरणमा

 नेपालगन्जस्थित जमुनाहा नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम तीव्र रूपमा अघि बढेको छ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिए ।

कार्यालय प्रमुख खनालले भने, “नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले निर्माण कार्य गर्ने हो । लगानी, प्राविधिक पाटो र निर्माण व्यवसायी भारतले नै छनोट गरेको हो । नेपालमा बन्न लागेकाले हामीले निर्माणको अवस्थाबारे जानकारी मात्रै लिने गरेका छौँ ।”

यही मे महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि अबको डेढ महिनाभित्र निर्माण कार्य पूरा हुने जानकारी भारतीय पक्षले नेपाली पक्षलाई गराएको छ । एकीकृत जाँच चौकीभित्र वेयरहाउस, प्रशासनिक भवन, ब्यारेक भवन, पोर्टर रेस्ट हाउस, प्रवेशद्वारलगायतका विभिन्न संरचनाको निर्माण कार्य धमाधम भइरहेको छ ।

जमुनाहभन्दा पश्चिमतर्फ नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित दसगजाको दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण भइरहेको छ । एकीकृत जाँच चौकी निर्माणका लागि एक दशकअघि नै नेपाली पक्षले नेपालतर्फको ९० बिघा जग्गा अधिग्रहण गरी तारबार गरेको भएपनि दुवैतर्फको निर्माण कार्य भने अढाइ वर्षअघि मात्रै सुरु भएको हो । नेपाली पक्षले जग्गा उपलब्ध गराएको छ भने अन्य निर्माणको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षको रहेको छ ।

यसअघि वीरगञ्ज र विराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ अप्रिल र सन् २०२० जनवरीमा संयुक्तरूपमा उदघाटन भइसकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १८:१०