संघीय संसद्को बजेट अधिवेशन भोलि (आइतबार) देखि सुरु हुँदैछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा त्यसअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
यसअघि हिउँदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौँ