सूचनाको शक्ति - The Power Of Information

        

‘लू’ लाग्दा देखिने सात लक्षण र बच्ने आठ उपाय

तापक्रम बढेसँगै तराईका जिल्लाहरुमा तातो हावा (लू) चल्न सक्ने सम्भावना बढेको छ । लूले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।

‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरुमा तातो हावा लू चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरु अपनाउन अनुरोध गर्दछौं,’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।

तातो हावा तथा लू लाग्दाका सात लक्षणहरु

१. हृद्धयको गति तीब्र हुने ।
२. श्वासप्रश्वास र रक्तचाप कम हुने ।
३. शरीरबाट पसिना ननिस्कने ।
४. टाउको अत्याधिक दुख्ने ।
५. चक्कर लाग्ने, अचेत हुने ।
६. शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने ।
७. छाला सुख्खा, रातो र तातो हुने ।

लूबाट जोगिने आठ उपाय

१. दिउँसो घरबाट बाहिर ननिस्कने ।
२. चिसो पानीले नुहाउने ।

३. फलफूलको रस, पानी पिउने र धेरै पसिनामा आएमा कहिलेकाही जीवनजल पिउने ।

४. बाहिरै निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने ।

५. खेतवारीमा कामकाज सकभर विहान वा बेलुका गर्ने ।

६. मदिरा सेवन नगर्ने ।

७. क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउने ।

८. चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १६:२१