काठमाडौंको नर्भिक अस्पतालमा फरक रक्त समूहका व्यक्तिको मिर्गाैला प्रत्यारोपण गरिएको छ । दुवै मिर्गाैला फेल भएका व्यक्तिमा मिर्गौला प्रत्यारोपण गर्दा रक्त समूह मिल्ने व्यक्तिको मात्रै मिर्गाैला लिइन्छ ।
फरक रक्त समूहको व्यक्तिबाट मिर्गाैला लिएर प्रत्यारोपण गर्नुलाई एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट भनिन्छ । निकै दुर्लभ मानिएको बीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न गरेको नर्भिक अस्पतालले दावी गरेको छ ।
अस्पतालका अनुसार मिर्गाैला फेल भएका ७२ वर्षीय पुरुषलाई ६५ वर्षीया महिलाले मिर्गाैला दान गरेकी हुन् । मिर्गाैला लिने बिरामीको ब्लड ग्रुप ‘ओ’ थियो भने दाताको ‘ए’ थियो । वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा.आरके अग्रवाल र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा.सुमित आचार्य नेतृत्वको टिमले शल्यक्रिया गरेको नर्भिक अस्तपालले जानकारी दिएको छ ।
नेपालको सन्दर्भमा यस्तो प्रत्यारोपण निकै दुर्लभ प्रत्यारोपण भएको डा.आचार्यले बताए । जटिल विधिबाट उपचार गरी मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिलाई हामीले ६ दिनमै डिस्चार्ज गरेको उनले जानकारी दिए । बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. आचार्यले बताए ।
डा. आचार्यका अनुसार बिरामीको मिर्गाैला प्रत्यारोपण अघि र पछि उसको रगतमा एन्टिबडीको स्तर कम गर्न र दाताको मिर्गौला अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो । यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ ।
सामान्य खालको मिर्गौला प्रत्यारोपणको तुलनामा यो जटिल विधि रहेकोले यसको शुल्क भने केही महंगो पर्छ । यस्ता उच्च जोखिम भएका प्रत्यारोपण गर्न विदेशजानुपर्ने बाध्यता अब अन्त्य भएको दावी डा.आचार्यको छ । यो सहित नर्भिकमा अहिलेसम्म सात जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं